रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो ।

पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो । पछिल्ला ३ सातामा मात्रै नेप्से करिब साढे ३ अंकले घटिसकेको छ ।

सूचकसँगै कारोबार रकममा पनि दैनिक गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्बले घटेर साढे ६ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ । यस्तै, अन्य समूहको परिसूचक पनि ३.२३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अरुण भ्याली साढे २४ करोड र स्वरोजगार लघुवित्त २४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ६.०६ प्रतिशतले घटेको छ । यसैगरी, गुडविल फाइनान्स, एनआइबीएल समृद्धि १ फण्ड, सिभिल लघुवित्त र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।