काठमाडौं । कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा ८० प्रतिशतसम्मको गिरावट आएको छ । तर, विदेशमा रहेका नेपालीबाट भने निरन्तर रेमिट्यान्स भित्रिएको छ । महामारीकै बीचमा पनि विदेशबाट आउने रेमिट्यान्समा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त)सम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.२ प्रतिशत बढि हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको तथ्यांक छ ।