लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

file

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले चालेको लकडाउन तथा निषेधाज्ञाका कारण मिटर रिडिङ हुन नसकेका वा छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । बन्दाबन्दीको समयमा नेपाल विद्युत प्राधिकरणका धेरै ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ छुटेको छ ।

प्राधिकरण आफैले मिटर रिडिङ नगर्ने र उल्टो जरिवाना हुन लागेको गुनासो ग्राहकबाट आउन थालेपछि उर्जा मन्त्री वर्षमान पुनले जरिवाना नउठाउन निर्देशन दिएका हुन् ।

ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले जरिवाना लिइसकेको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न समेत निर्देशन दिएका छन् । मन्त्री पुनले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसक्ने अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन समेत उनले निर्देशन दिएका छन् ।

सोहीअनुसार प्राधिकरणले जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिएको छ । मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न समेत निर्देशन दिएका छन् ।

कुलमानको विदाईसँगै प्राधिकरण व्यवस्थापनलाई सोहीअनुसार चुस्त राख्न अहिले उर्जा मन्त्री पुनलाई निकै हम्मेहम्मे परिरहेको छ ।