लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

काठमाडौं । चीनको शीआन सहरमा लकडाउनका बेला खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न थालेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूमा त्यहाँका बासिन्दाले खाद्यपदार्थ लिन आफूसँग भएको खाद्यान्न वा विद्युतीय उपकरण दिइरहेको देखिन्छ।

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएसँगै शीआनमा झन्डै एक करोड ३० लाख मानिस घरभित्र बस्न बाध्य छन्। उनीहरू खाद्यान्न किन्न पनि बाहिर निस्किन पाउँदैनन्। केही समययता मानिसहरूले यसबारे सामाजिक सञ्जालमार्फत् गुनासो पोख्न थालेका छन्।

अधिकारी निकायले स्थानीय परिवारहरूलाई निःशुल्क खाना उपलब्ध गराउँदै आएको छ। तर केहीले सरकारबाट प्राप्त खाना पर्याप्त नभएको बताएका छन् भने केहीले अझै पनि सहायता पाउन नसकेको जनाएका छन्।

चीनको सामाजिक सञ्जाल वेबोमा मानिसहरूले बन्दा र चुरोट, स्याउ र भाँडा माझ्ने तरल पदार्थ तथा तरकारी र स्यानिनटरी प्याड आदानप्रदान गरेको भिडिओ तथा तस्बिर सार्वजनिक गरेका छन्।

एउटा भिडिओमा एक व्यक्ति आफ्नो भिडिओ गेम उपकरण ुनिन्टेन्डो स्विचु एक पुरिया तयारी चाउचाउ र दुई पुरिया पाउरोटीसँग साट्न तत्पर भएको देखिन्छन्। ‘मानिसहरूले एउटै भवनमा बस्ने अन्य बासिन्दासँग सामानहरू साटासाट गरिरहेका छन्। किनकि उनीहरूसँग पर्याप्त खाना छैन,’ वाङ उपनाम भएका एक व्यक्तिले रेडिओ फ्री एशियालाई भनेका छन्। समाचारका अनुसार एक मानिसले चामलका लागि स्मार्टफोन र ट्याब्लेट समेत दिन खोजेका थिए।

‘बेसहारा नागरिकहरू वस्तु साटफेरको युगमा आइपुगेका छन्। आलुको लागि कपासको कान सफा गर्ने सामान दिन्छन्,’ एक वेबो प्रयोगकर्ताले भने। उनले यस अवस्थालाई ‘आदीम समाजमा फर्किनु’को सङ्ज्ञा दिएका छन्।

कोही मानिस निकै आशावादी सुनिन्छन्। उनीहरूले आफ्ना छिमेकीहरूले दयाका साथ सामान आदानप्रदान गर्दा आफ्नो मन छोएको बताएका छन्।त्यहाँका स्थानीय निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि कडा नियमहरू लागु गरेका छन् जुन सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।

सहरको दक्षिण भेगमा रहेको मिङ्दे ८ यिङ्ली हाउजिङ कम्पाउन्डका बासिन्दाहरूलाई ज्यानुअरीको १ को मध्यरातपछि घर छोडेर क्वारन्टीनमा बस्न जानुपर्ने बताइएको थियो।

इन्टरनेट प्रयोगकर्ताहरू सोमवार भाइरल भएको एक अपुष्ट सामग्रीका कारण छक्क परेका छन्। एक शीआनवासीले आफ्ना बुबाको हृदयाघातपछि मृत्यु भएको र सहरमा कोभिड(१९ सङ्क्रमणको अवस्था जटिल भएका कारण अस्पतालबाट टाढा लगिएको बताएका छन्।

यस सहरमा फैलिएको सङ्क्रमण चीनले महिनौँपछि भोगेको सबैभन्दा खराब अवस्था हो। त्यहाँ शून्य सङ्क्रमणको रणनीति छ तथा सङ्क्रमण पूर्ण रूपमा हटाउने प्रयास भइरहेको छ।मङ्गलबार तीन लक्षणविहीन मानिसमा सङ्क्रमण पुष्टि भएपछि अधिकारीहरूले दोस्रो सहरमा पनि पूर्ण लकडाउन गराएका छन्।

शीआनबाट ५०० किलोमिटर टाढा रहेको सहर युझाउका करिब ११ लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सोमबार साँझसम्ममा लगभग सबै सवारीसाधनलाई सडकमा जान प्रतिबन्ध लगाइएको छ।

साथै अत्यावश्यक सामान आपूर्ति गर्ने सुपरमार्केटबाहेक अन्य पसल तथा व्यवसायहरू बन्द गर्न निर्देशन दिइएको छ। यी कडा नियमहरू चिनियाँ नयाँ वर्ष र अर्को महिना बेइजिङमा हुने हिउँदे ओलिम्पिक्सको पूर्वसन्ध्यामा जारी गरिएका हुन्।बीबीसी