लकडाउनमा रोकिएको तलव मजदुरले पाउने

काठमाडौं । लकडाउनका कारण रोकिएको पारिश्रमिक सबै श्रमिकले पाउने भएका छन् । रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच भएको सहमति अनुसार लकडाउनमा रोकिएको श्रमिकको पारिश्रमिक भुक्तान गर्ने सम्बन्धमा सहमति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो।

लकडाउनको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । जेठ महिनामा लकडाउनका कारण काममा उपस्थित हुन नसकेकालाई श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ । श्रमिकलाई लकडाउनकै बाहनामा पारी कामबाट निकाल्न पाइने छैन । पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझदारी भएको समेत जनाइएको छ ।

उद्योग प्रतिष्ठान खुलिसकेको अवस्थामा काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको छ । लकडाउन अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

उद्योग व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लक डाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरूले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ । नेपालमा ११ चैतबाट शुरु भएको लकडाउनका कारण धेरै उद्योग प्रतिस्ठान बन्द भएका थिए । १ असारबाट भने धेरैजसो उद्योग खोल्ने अनुमति सरकारले दिएको थियो ।