लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प

File

काठमाडौं । नेपालमा मध्यमनसुन जारी छ । यसले पछिल्लो तीन दिनयता लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी र पहिरो बढेसँगै देशभर सडक संजालमा असर पुगेको छ । सडक विभागका अनुसार अहिले १४ सडक खण्ड ठप्प छ । यसमा चितवनको नारायणघाट मुग्लिङ सडक खण्ड समेत रहेको छ । सडक विभागका अनुसार ४९ सडक खण्ड भने एकतर्फी रुपमा सञ्चालनमा छन् ।

अहिले नारायणघाट मुग्लिङ सडकको अवरोध हटाउने प्रयास जारी छ । यहाँ राजमार्गमा भिमकाय ढुंगा खसेर बाटो रोकेको प्रहरीले बताएको छ । पहिरोले मकवानपुरबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौं आउने सडक बन्द भएको छ ।

ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड समेत ठप्प छ । मनाङको डुम्रे बेसीसहर चामे सडक खण्डमा समेत पहिरोले अवरोध गरेको छ । मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा पहिरोले यात्रा अवरुद्ध छ । अरनिको राजमार्गको खाडीचौर कोदारी सडक खण्ड समेत बन्द छ ।