काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । पछिल्लो दुईसाता यता लगातार गिरावट आएको बजारमा मंगलबार साढे २ अंकको सुधार आएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर करिब साढे ३ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ बराबरको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।
मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै २३०.२९ अंकले बढेको छ भने व्यापारसमूहको परिसूचक सबैभन्दा धेरै ७२.५९ अंकले घटेको छ ।
कारोबारमा आएका २१६ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै १९ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशीको १८ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक १७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज राष्ट्रिय बीमा कम्पनीका प्रकोटर सेयरधनीले सबैभन्दा धेरै ८.८१ प्रतिशत गुमाएका छन् ।