काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो ।
सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक हरियो भएका छन् भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ९७.७९ अंकले बढेको छ भने व्यापार समूह ४८.६६ अंकले घटेको छ ।
कारोबारमा आएका २१४ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमकै नागरिक लगानी कोष ३२ करोड र एनआइसी एशिया बैंक ३० करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज सिद्धार्थ बैंकको डिबेन्चर सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ ।