–महेन्द्र चालिसे
हामीलाई कसैले घर कहाँ भनेर सोध्यो भने हामी फुर्तिसंग भनि दिन्छौं – काठमाडौं । काठमाडौंको कुनै अनकन्टार गाऊँमा घर भए पनि काठमाडौंको मुटुमै जन्मिए जसरी भन्छौं “काठमाडौं” । तर त्यही काठमाडौं वरीपरीका अधिकांस ठाउँहरु कता पर्छन्, कस्तो छ भनेर हामीले न त सुनेका नै छौं न त गएका नै छौं ।
गत एक डेढ वर्षदेखि सायद काम नभएर बढी फुर्सदिलो भएर हो कि अथवा घुम्न हिड्ने साथी समूह मिलेर हो कि, यसो साथीहरुसंग कुरा गर्यो घरबाट निक्ली हाल्यो गर्न अनुकुल मिलेर काठमाडौंका विभिन्न स्थानहरु जुन हाम्रो वासस्थानदेखि एक दुई घन्टाको ड्राइभिंगमा जान थालियो ।
यसरी घुम्न हिड्ने हाम्रो २–३ समूह वनेको छ । १ समूहमा हामी ५ जना हुन्छौं अर्को समुहमा हामी त्यो ५ जनामा अर्को ५ जना थपिएर १० जनाको समुह छौं र तेस्रो समूह त्यो १० जनामा अर्को १२ देखि १४ जना थपिएर २२–२४ जनाको समूह वन्छौं र हामी कहिले ५ जनाको कहिले १० जनाको कहिले २२–२४ जना मिलेर विभिन्न स्थानमा घुम्न जाने गर्छौं ।
यही घुम्न जाने क्रममा २०७८ साल फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन म, श्रीमती इन्दिरा, नारायणी जोशी, तारा जोशी, पूर्णचन्द्र जोशी, पुरु चालिसे, सुधा चालिसे, रामेश्वर ढुङ्गाना र उषा ढुङ्गाना ललितपुर जिल्लाको लेले स्थित पाथिभरा देवी, टिका भैरब र वज्रवाराही पुग्यौं । माथि भनिए झैं म काठमाण्डौंको आरुबारीमा जन्मेको मान्छे, उमेरले साठी नाघिसकेको, आजसम्म लेले र टिकाभैरब पुगेको रहेनछु, भला वज्रवाराही कसो एउटा विहेको जन्तिमा पुगेको रहेछु ।
ललितपुर जिल्लाको मध्य भागमा पर्ने सानो उपत्यका लेले, पाटनबाट करिब १२–१३ किलोमिटरको दुरीमा रहेको लेलेमा धेरै नै ऐतिहासिक सम्पदाहरु रहेको छ । लेलेमा रहेको सरस्वती कुण्डमा श्रीपञ्चमीको दिन ललितपुर मात्र नभएर काठमाण्डौं, भक्तपुर र त्यो भन्दा पनि टाढा टाढाबाट सरस्वती पूजा गर्न आउँछन् । त्यसैगरी त्यो सरस्वती कुण्डमा उमेर पुगेका तर बोल्न नथालेका बच्चाहरुलाई कुण्डमा पुजा गरेर त्यहाँको जल खान दिएमा बोल्न थाल्छन् भन्ने मान्यता पनि रहेको छ । लेलेबाट करिब ९५ किलोमिटरमै हेटौंडा पुग्न सकिन्छ ।
भन्न त लेले क्षेत्रलाई इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणी धाम पनि भनिन्छ । चारैतिर हरिया डाँडा, विचमा गाउँले बस्ती जहाँ खाद्यान्न र तरकारी राम्रो उब्जनी हुन्छ । लिच्छवी र मल्लकालीन पुरानो नेवार बस्ति भएको लेलेको महत्वपूर्ण सम्पदाको रुपमा सरस्वती कुण्ड रहकोछ ।
लेलेको बारेमा प्राचिन विभिन्न किम्वदन्तीहरु भेटिन्छ । जस अनुसार देवताका गुरु वृहस्पतिले कालो तीलको थुप्रो लगाएर भगवान शिवको तपस्या गरे रे । तपस्याको तेश्रो दिन संक्रान्तीमा त्यो तिलको थुप्रो ढुंगामा परिणत भई भगवान शिवले दर्शन दिदै भने ल मेरो मात्र हैन सरस्वतीको पनि आराधना गर्नु । भगवान शिवको उक्त भनाई अनुसार वृहस्पतिले सरस्वतीको पनि तपस्या आराधना गर्न थाले । वृहस्पतिको आराधनापछि सरस्वती प्रसन्न भएर जलको रुपमा प्रकट भइन् र वृहस्पतिले सो जल पिए । जल पिएकोले सरस्वती वृहस्पतिको कण्ठमा बस्न गईन । त्यस अघि सरस्वती दैत्य गुरु शुक्राचार्यको कण्ठमा बस्ने गरेकी थिइन् । आफ्नो कण्ठ छाडी वृहस्पतिको कण्ठमा सरस्वती बस्न गएकोले शुक्राचार्य रिसाएर सरस्वतीलाई “तिमीले जलको रुपमा यही कुण्डमा बस्नु परोस् भनि श्राप दिए। आफुले श्राप पाएपछि सरस्वतीले रिसाएर शुक्राचार्यलाई “तिमीले पनि शुक्रकिटको रुपमा संसार सृष्टि गर्न सगाउनू परोस्” भनेर श्राप दिइन् ।”
यही किम्वदन्ति र अन्य जनश्रुति अनूसार सरस्वतीको श्राप पाएर शुक्राचार्य पहेंलो पानीमा परिणत भइ त्यहां अर्को कुण्ड वन्यो र त्यो कुण्डलाई त्यही वेलादेखि ज्ञानकुण्डको रुपमा पूजा अर्चना गर्न थालियो । तिलको थुप्रोबाट ढुंगाको रुपमा शिवजी उत्पत्ति भएकोले तिलेश्वर महादेव भनियो भने जलको रुपमा सरस्वती उत्पन्न भएकोले सरस्वती कुण्ड भनियो । यो कुण्ड नजिक सरस्वतीका साथै गणेश, कुमार, नव दुर्गाहरुको मूर्ति छन् । तिलेश्वर महादेव र सरस्वती कुण्डसंगै उत्तरपट्टी पशुपतिनाथको मन्दिर छ । भनिन्छ काठमाण्डौंमा रहेका आराध्यदेव पशुपतिनाथ भन्दा यो मन्दिर अझ पुरानो हो, जुन विक्रम संवत् ५२६ मा नै स्थापना गरिएको थियो ।
‘यहांबाट करिब ६ किलोमिटर पर २ हजार मिटर अग्लो भन्ज्याङ्ग पर्छ जस्लाई नल्लु भन्ज्याङ्ग भनिन्छ र त्यही पाथिभरा देवीको मन्दिर छ । त्यो भन्ज्याङ्गबाट हेर्दा माथि माथि हिउँ टलक्क टल्किएर झलमल्ल देखिएको हिमाल, तल तल कचौरा रुपी काठमाडौं उपत्यकाको आकृति, अनि चारैतिर फनक्क घुमेर हेर्दा हरिया डाँडा र ती डाँडालाई नयाँ दुलहीले सिउंदो भरी हालेको सिन्दुर झैं झपक्क ढाकेको राताम्मे लालि गुराँस । हो यो दृष्य हो महाभारत श्रंखलामा पर्ने छैन दक्षिणी ललितपुरको एक भाग नल्लु भन्ज्याङ्ग र त्यही नजिकको लामिडाँडाबाट देखिने दृष्य ।
हामी यी दृष्यहरु भ्याएसम्म मोवाइलको क्यामेरामा भित्र्याउँदै र नभ्याएको जती आँखाभित्र सजाउँदै पाथिभरा देवीको दर्शन गर्न पुग्यौं । हुन त पाथिभरा देवीको खास मन्दिर त पुर्वि नेपालको ताप्लेजुंग जिल्लामा पर्छ । पाथीभरा देवीलाई आधीकाली, महामाया, महारुद्री जस्ता नाउँबाट पनि सम्बोधन गरिन्छ । वर्षैपिच्छे हजारौं तिर्थयात्री सारो कठिनाईसँग पाथीभरा पुग्ने गर्छन् । दरो ईच्छा श्क्तिको अभावमा ताप्लेजुंगस्थित पाथीभरा देवी जान नसक्नेहरुलाई पाथीभरा देवीको दशन गर्न सरल होस भनि ललितपुर नल्लुवासीहरुले नल्लुको टुप्पोमा २०६७ सालमा पाथीभरा देवीको स्थापना गरे ।
लेले स्थित पाथिभरा देबी
ताप्लेजुंगमा हामीले दर्शन गरेको जस्तै पाथीभरा देवीको मूर्ति त्यहाँपनि देखियो । सपक्क पारेर रातो धोती लगाएकी गलामा हरियो पोतेमा उनेको तिलहरी र मोतिको माला लगाएर, टम्म चुरा लगाएर सजिएकी र सुनौलो मुहार कान्तिले धपक्क बलेको अनुहार आशिर्वादको रुपमा ठडिएको एक हात अर्को हातमा शंख अनि अरु हातमा विभिन्न हतियार सहित सिंहमाथि चढेकी देवीको मूर्ति अहिल्यै वोलिहाल्छकि जस्तो भान हुन्छ । यस्तै पाथी भराको मूर्ति भक्तपुरको गुण्डुमा पनि स्थापना गरिएको छ रे, तर हामी अहिलेसम्म पुगेका छैनौं ।
हामी सवैजना पाथिभरा देवीको दर्शन गरेर बज्रवाराहीको दर्शन गर्न ओरालो झर्यौं । बज्रवाराहीको मन्दिर एउटा शक्तिपीठको रुपमा हिन्दु धर्मावलम्बीहरुले पूज्ने गर्छन् । चारवटा बाराही मन्दिर मध्ये वज्रवाराही पनि एक हो भने बाँकी ३ वटामा नीलवाराही, स्वेतवाराही र धुम्वाराही मन्दिर पर्दछन् । यी देवीहरुलाई तान्त्रीक देवी पनि भन्ने गरिन्छ र यिनीहरुको नित्य पूजा पनि तान्त्रिक विधीबाटै गुभाजुहरुबाट गरिन्छ । बज्रवाराहीलाई आठ र मात्रिका कै जसरी पूजा गरिन्छ भने अष्ट भैरवको रुपमा पनि पुजिन्छ ।

वज्रवाराहीको अहिले भैरहेको मन्दिर सत्रौं शताब्दीमा वनेको हो जुन पुरानो देखिन्छ र मन्दिरको ढोकाको दायाँबायाँ २ वटा ठुलो कलात्मक ढुंगाबाट वनेका सिंहको मुर्ति देखिन्छन् ती सिंह वज्रवाराहीको संरक्षक हुन् भन्ने मान्यता पाइन्छ । वज्रवाराहीको पहिलेको संरचना चाहिं विक्रम संवत् ७८४ मा श्री निवास मल्लले वनाएका थिए भनिन्छ । जनश्रुती अनूसार वज्रवाराही देवी हाल मन्दिर भएको ठाउँमा जहाँ पहिला ठूलो पोखरी थियो, त्यहाँ प्रकट भएकी थिइन् भन्ने विश्वास गरिन्छ ।
वज्रवाराही मन्दिर भएको ठाउँ चारैतिर वाक्लो जंगलले घेरिएको छ र त्यो ठाउँ विभिन्न जातका चराहरु हेर्नका लागि पनि प्रख्यात छ । त्यो ठाउँ अहिले सम्म प्राकृतिक सौन्दर्यताले घेरिएको छ, जहाँ भूमाफियाहरुले विनास गर्न पाएका छैनन् ।
साँच्चै भन्ने हो भने त्यो वज्रवाराही मन्दिर क्षेत्र धार्मिक कारणले मात्र नभएर प्राकृतिक सौन्दर्य र मनमोहक वातावरणको कारणले पनि प्रख्यात भएको र त्यहाँ विदामा पिकनिक मनाउन आउनेहरुका लागि यथेष्ट स्थान छ भने हिन्दू धर्म संस्कृति अनुसार गरिने विवाह पनि त्यहाँ हुने गर्दछ । यो पंतिकार स्वयं २ चोटी त्यस जंगलमा जन्ती गएका छ ।
त्यसैगरी वज्रवाराही मन्दिरमा गाईं भैंसी पाल्ने कृषक हुन् या सामान्य व्यक्तिहरु हुन् आफ्नो घरमा पालेको गाईं भैंसी पहिलो पल्ट व्याएपछि त्यो दुध लगेर बज्रवाराही मन्दिरमा चढाउने गर्छन् । यसरी त्यहाँ दूध चढाएपछि आफ्नो गोठमा कहिल्यै दुनो गाई भैंसीको अभाव हुंदैन भन्ने जनश्रुती पाइन्छ र त्यहाँ सिसीमा दूध लिएर चढाउनेको भिड देख्न सकिन्छ ।
नेपालमा भएका अधिकांश मन्दिर भन्दा वज्रवाराही मन्दिर अलिकति फरक शैलीको देखिन्छ । किनकि हाम्रा धेरै जसो मन्दिरहरुमा मन्दिरको टुप्पामा गजुर हालिएको हुन्छन तर वज्रवाराही मन्दिरमा गजुर हालेको देखिंदैन । जनश्रुती अनुसार मन्दिरमा राख्नका लागि पाटनमा गजुर वनाइएका थियो । जुन दिन गजुर राख्ने भनिएको थियो । त्यस्को अघिल्लो रात मन्दिरको पूजारीले एउटा डरलाग्दो सपना देखे । सपनामा जो व्यक्ति गजुर राख्न जान्छ उ आगोले जलेर मर्छ । जव पुजारीले आफ्नो यो सपना सवैलाई वताउँछन् त्यसपछि सबैको सल्लाहमा मन्दिरमा गजुर राख्ने विचार त्यागेर विना गजुुर नै मन्दिर बनाइयो ।
दुर्गा कवचमा वाराही देवीको धेरै ठाउँमा उल्लेख गरिएको कारण पनि हिन्दू धर्मावलम्बीहरुका लागि वज्रवाराही देवीको पूजा अर्चनाको ठूलो महत्व हुन्छ भनेर त्यहाँका पुजारी पनि बताउँछन् ।
जे होस् अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रले दिएको राष्ट्रिय विदामा हामिले लेले स्थित पाथीभरा देवी, टिका भैरब र वज्रवाराही देवीको दर्शन गरेर आफुहरुले बोकर गएको खाना त्यो मनोरम स्थानमा बसेर खाइवरी मनभित्र सकुञ्जेलका प्राकृतिक दृष्यहरु संगालेर घरतर्फ फर्कियौं ।