विदेशमा छापिएका पुस्तकको आयात रोकियो

काठमाडौं । नेपालमा पुस्तक आयात तथा बिक्रि गरिरहेका व्यवसायीले विदेशमा छापिएका पुस्तकको आयात रोकेका छन् । सरकारले आगामी आव २०७६्७७ को बजेटमार्फत पुस्तक आयातमा १० प्रतिशत भन्सार शूल्क लगाउने घोषणाको विरोधमा व्यवसायीले पुस्तक आयात नै रोक्ने निर्णय गरेका हुन् ।

नेपालमा भन्सार नतिरी पुस्तक आयात भइरहेको थियो । जसले गर्दा नेपालमा भन्दा भारतमा छपाई सस्तो हुने भएपछि नेपाली श्रष्टाहरुले भारतमा पुस्तक छपाएर ल्याएरनेपालमा बिक्रि गर्दै आएका थिए ।

सरकारले पुस्तकमा भन्सार थपेपछि मुद्रण व्यवसायी आन्दोलित भएका हुन् । नेपालमा भारतबाट मात्र ८० प्रतिशत पुस्तक आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घले पुस्तकमा लगाउने घोषणा भएको १० प्रतिशत भन्सार महसुल फिर्ता नभएसम्म पुस्तक आयात नगर्ने विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

विश्वमा कहीँ कतै पनि पुस्तकमा भन्सार महसुल नलगाउने भन्दै नेपालमा पनि लगाउन नहुने व्यवसायीको तर्क छ ।

उता, सरकारले भने नेपालमै छपाईको पर्याप्त सुविधा हुँदाहुँदै भारतमा गएर सस्तो मूल्यमा छपाएर ठूलो संख्यामा पुस्तक आयात गर्दा राजस्व गुमिरहेको निष्कर्षमा पुगेको छ ।

नेपालमा अहिलेसम्म ६ सय भन्दा बढी छपाई गृह स्थापना भइसकेका छन् । ति कम्पनीसँग ८ सय भन्दा बढी छपाई मेसिन उपलब्ध छन् ।