विमानको शौचालय प्रयोग गरेर सुन तस्करी, सफाइ कर्मचारीसहित ५ पक्राउ

काठमाडौं । विमानको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको खुलासा भएको छ ।

बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको छ । प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको याङवरक-५ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादी-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङका -२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर-२ का ४१ वर्षिय हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा-४ का ३६ वर्षीय ताराकान्त चौधरी छन् ।

चौधरी हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एन्ड सरसफाइका सुपरभाइजर हुन् भने माबो र तामाङ सरसफाइ कामदार हुन् ।