कायरो । गत मार्च महिनामा सुइज नहरमा तेर्सो परेर अड्किँदा दैनिक करोडौं डलर घाटा लगाएको विशाल पानीजहाज अन्ततः पुनः व्यवसायिक संचालनमा फर्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सूइज नहरलाई अड्किएको यो पानीजहाजका कारण यूरोप र एसियाबीच समुन्द्रीमार्गबाट हुने व्यापार रोकिएको थियो । यसले विश्व व्यापारमै असर पारेको थियो । इजिप्टले उक्त पानीजहाजलाई नियन्त्रणमा लिएको थियो ।
तर, पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि इजिप्टले जहाजलाई नियन्त्रणमुक्त गरेको छ । एभरग्रीन नाम दिइएको पानीजहाज बुधबार दिउँसोबाट संचालनमा आएको छ । जहाज भूमध्य सागरतर्फ लागेको छ । पानीजहाजलाई उक्त नहर पर्ने सहर इस्माइलिआमा तीन महिनासम्म नियन्त्रणमा राखिएको हो ।
क्षतिपूर्तिसम्बन्धी सम्झौताको सर्तहरू सार्वजनिक गरिएका छैनन् । बीबीसीका अनुसार इजिप्टले ५५ करोड अमेरिकी डलर माग गरेको थियो। १९३ किलोमिटर लामो सूइज नहरले भूमध्य सागरलाई उत्तरी पुछारमा र दक्षिणतर्फ लालसागरलाई जोड्दै एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गको काम गर्छ। यो जलमार्गलाई ४०० मिटर लामो एभरग्रीन उच्च वायुका कारण छड्के पर्दै पानीमुनिको सतहलाई छुँदा अड्किएको थियो ।
यसले नहरमा हजारौं पानीजहाज ट्राफिक जाममा परेका थिए । मालवाहक उक्त पानीजहाज छ दिनपछि पुनः तैरन सम्भव पारिएपछि नहर खुलेको हो । सो क्रममा एकजनाको मृत्यु समेत भएको थियो । एभरग्रीन जापानी कम्पनीको पानीजहाज हो । जहाजमा चालक दलका सदस्य भने भारतीय थिए । पानीजहाजमा अझै १८,३०० कन्टेनर छन्।