विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खाद्य संकटबाट बच्त नेपाललाई २ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (.युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दै गएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासबाट सोमबार जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । युएसएआईडीका कार्यवाहक नेपाल मिसन निर्देशक बेथ होगनका अनुसार, मलको अभावले धान, मकै र अन्य महत्वपूर्ण बालीहरूको उत्पादन घट्दै गएकाले यो सहयोगले नेपालको कृषि क्षेत्र र किसानहरूमा व्यापक प्रभाव पार्ने विश्वास गरिएको छ । खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन र गरिबी, भोकमरी र कुपोषणमा थप वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल पनि एक हो ।

यस सहयोगले नेपालको बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावितलाई पर्याप्त खानेकुरा सुनिश्चित गर्न मद्दत गर्ने विश्वास नियोगले गरेको छ । यो नेपाल–अमेरिका साझेदारी र चलिरहेको स्वास्थ्य र खाद्य सुरक्षा सहायता कार्यक्रमको ७५ वर्षको निरन्तरता हो । यी कोषहरूले पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाका लागि पोषण बृद्धि गरिएको खानालाई पनि सहयोग गर्नेछ