विश्व बैंकले नेपाललाई दिने भयो थप १२ अर्ब ऋण

काठमाडौं । विश्व बैंकले नेपाललाई थप १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) ऋण दिने भएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर ऋण सहायता अनुमोदन गरेको हो । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि पाँच करोड डलर सहयोग दिन लागेको हो । विश्व बैङ्कले विद्यालय क्षेत्र विकास कार्यक्रमलाई थप प्रवद्र्धन गर्न सहयोग गर्न लागेको जनाएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीको सुदृढीकरणका लागि यो रकम उपयोग हुने उल्ल्ेख गरेको छ । विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद जेरभोसका अनुसार यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई सक्षम बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई मद्दत पुग्नेछ ।

नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल भएको भन्दै उनले यो सहायताबाट हामीले बीचमै विद्यालय छाडेका बालबालिकाका लागि विद्यालय फर्कन सक्ने वातावरण बन्ने अपेक्षा गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पनि प्रभावकारी सुधार आउनेमा विश्व बैङ्कको विश्वास छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रमले बालबालिकाको स्कुल अध्ययनलाई निरन्तरता दिने वातावारण निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै स्वास्थ्य क्षेत्रको सहयोगले कोभिड–१९ महामारीको अवस्थामा जटिल रहेको नेपालको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ ।