विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गरेको ट्रम्पको घोषणा, सबै सहायता रद्द

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा डब्लुएचओ चीनप्रति पक्षपाती रहेको आरोप लगाउँदै आएका ट्रम्पले यसअघि नै संस्थालाई अमेरिकाले दिने बजेट रोक्का गरि दिएका थिए ।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले संगठनसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । संगठनलाई अमेरिकाले बर्षेनी साढे चार सय अर्ब अमेरिकी डलरभन्दा धेरै सहायता प्रदान गर्ने गरेको र अब उक्त रकम अन्य संस्था मार्फत विश्वभरको जनस्वास्थ्य क्षेत्रमा उपलब्ध गराइने उनको दावी छ । संगठनले चीनप्रति अति आशक्ति देखाएको आरोप लगाउँदै ट्रम्पले उक्त कदम चालेका हुन् ।

मार्च पहिलो सातासम्म ट्रम्प चीनले कोरोना भाइरस नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको भन्दै प्रसंशा गरि रहेका थिए । उनले पटक पटक चीनले भाइरस नियन्त्रणमा पारदर्शीता देखाएको बताएका थिए । तर, जब अमेरिकामा मार्च दोस्रो सातापछि संक्रमणले तीव्रता पायो त्यसपछि उनले चीनलाई दोष दिन थाले । र, चीनलाई बचाएको भन्दै डब्लुएचओप्रति पनि खनिन थाले ।

अहिले अमेरिका कोरोना भाइरस संक्रिमत र ज्यान गुमाउनेको संख्यामा पहिलो भइ सकेको छ । संक्रमितको संख्या १८ लाख पुग्न लागेको छ भने एक लाख तीन हजार बढिले ज्यान गुमाइ सकेका छन् । ट्रम्पले सुरुका दुई महिना अमेरिकालाई भाइरसले कुनै प्रभाव नपार्ने दावी गर्दै विताएका थिए । संक्रमण चर्किएपछि उनी जवाफदेही बन्नुको साटो अरुप्रति दोष थोपर्न थालेका हुन् ।

अमेरिकासँगै सुरुवाती संक्रमण देखिएको दक्षिण कोरिया र जापानले भाइरसलाई लगातार नियन्त्रणमा लिन सफल भएका छन् । तर, अमेरिकामा सुरुवातमा पर्याप्त जाँच नै हुन नपाउँदा भाइरसले देशभर फैलन पाएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । भाइरस संक्रमणको आरोप प्रत्यारोप चर्किँदै जाँदा ट्रम्पले चीन विरोधी वक्तव्यलाई आउँदो चुनावको मुख्य एजेन्डा नै बनाइ सकेका छन् । चीनका राष्ट्रपति सि जिनफिङलाई आफ्ना अनन्य मित्र दावी गर्दै आएका ट्रम्पले अहिले एकाएक डेमोक्रेटिक नेता जो बाइडेनको हितैसी दावी गर्न थालेका छन् ।

शुक्रबारको सम्बोधनमा उनले चीनले लिएको हङकङ लक्षित कानूनी कारबाही विरुद्ध पनि नयाँ नीति सार्वजनिक गरेका छन् । उनले आफ्ना अधिकारीलाई ‘हङकङसँगको विशेष व्यापार सम्बन्ध अन्त्यको तयारी’का लागि निर्देशन दिएको समेत बताएका छन् ।

शुक्रबार उनले पत्रकारका प्रश्नको जवाफ दिएनन् । साथै मिनिसोटामा पुलिस यातनाका कारण मारिएका निशस्त्र काला व्यक्ति जर्ज फ्लोयड बारे पनि केही बताएनन् । उनले विहीबार राती ट्विट गर्दै फ्लोयड हत्याको विरुद्ध आन्दोलन गर्नेहरुलाई लक्षित गरि लुट मच्चाए ‘सुट (बन्दुक)’को सामना गर्नुपर्ने चेतावनी दिएका थिए । उनको ट्विटमा ट्विटरले हिंसा भड्काउने अभिव्यक्ति भन्दै सूचना पनि राखिदिएको छ ।