वीरगन्ज । वीरगन्जमा उपचारार्थ ४ जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदैछन् ।
वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आइतबार डिस्चार्ज गर्न लागिएको हो ।
छपकैयास्थित जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकले कोरोनालाई जित्न सफल भएका छन् ।
पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । स्वाबको नमूना शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो।
शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको हो। चारै जनाको चौथो रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गर्न लागिएको हो ।
यसपछि अब वीरगन्जमा एक मात्र बिरामी बाँकि रहनेछन् । उनीहरुको डिस्चार्जसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १६ पुग्नेछ ।
यसअघि शनिबारसम्म १२ जनाले यस रोगलाई जितिसकेका छन् । शनिबार चितवनका एक युवालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
नेपालमा कुल ४९ जनामा कोरोना देखिएको छ । पछिल्लो दुई दिन यता भने नयाँ संक्रमित फेला परेको छैन । शनिबारसम्म कूल ५० हजारको नमुना परीक्षण भइसकेको छ ।