वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

काठमाडौं । संसद विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले लोकप्रिय कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले चतुर्याइपूर्वक काम गरेको देखिन्छ । आलोचनाका डरले एकै पटक धेरै वृद्धि गरिएको छैन । तर, वृद्धि गर्न समेत छाडिएको छैन । सरकारले वृद्धभत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । यो ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकले प्राप्त गर्छन् ।

सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता समेत ३३ प्रतिशत बढाउने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलको यो घोषणाबाट सरकारले एक साथ धेरै नागरिकको मन जित्न खोजेको देखिन्छ ।

यसबीचमा सरकारले कर्मचारीको तलवमा समान २ हजार रुपैयाँ मासिक वृद्धि गर्ने निर्णय गरेको छ । यो कम भएपनि सांकेतिक रुपमा सम्बोधन गरेको हो । सरकारले बजेटबाट प्रहरीको रासन भत्ता समेत १५ प्रतिशत बढाउने निर्णय गरेको छ । कर्मचारीको मनोवल बढाउन यस्तो निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए ।