काठमाडौं । चालु आर्थिक वर्ष (२०७६\७७)को पहिलो दुई महिनाको अवधिमा वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ ।
यस अवधिमा नेपालको आयात सामान्य घटेको छ भने निर्यातको वृद्धिदर भने उल्लेख् रुपमा बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिना (साउन–भदौ)मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ ।
यो रकम अघिल्लो आर्थिक वर्ष २०७५\७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष दुर्ए महिना अवधिमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांक रहेको छ ।
यी दुई महिनामा निर्यात भने १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो ।
उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको थियो । आयातमा कमी र निर्यात वृद्धिले गर्दा समग्र व्यापार घाटा समेत सुधारोन्मुख देखिएको छ ।
यस अवधिमा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो आवको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले घटेको पाइएको छ ।
नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत यस अवधिमा ठूलो वृद्धि भएको छ ।
तथ्यांक अनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७.५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्याता हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो ।