कुमार न्यौपाने, न्युयोर्क
सिकागोका भित्री कथाकहानी जे जस्तो भएतापनि सुन्दर, सफा, बिशाल र भेनिसको झल्को दिने सिकागो भव्य रहेछ । बेलुका ६.४० बजे वासिगंटनको लागि हिडेको रेल इण्डियाना र इलोनोइको सिमाना पार गर्दैगर्दा देखिएको दृष्यहरुले भने साच्ची कै पृथ्वीमा प्रदुषण कसले, कसरी फैलाइरहेछ भन्ने उत्तर दिन्छ । पाँच ग्रेट तालहरुको नाउले चिनिने सुपेरीयर, ह्युरोन, मिसीगन, इरी र ओन्टारीयो मध्ये सिगैं अमेरीका भित्रै पर्ने मिसीगन तालको दक्षिणी पुछारको ग्रे भन्ने भाग आँखालाइ अति नै अप्रीय लाग्ने, अति नै जिर्ण उद्योगहरुले घेरिएको थियो । विश्वका अति नै सुन्दर र स्वच्छ मानिने यी तालहरुमा किन र कसरी यस्तो औद्योगिक हस्तक्षेप भयो । किन उद्योगीक क्षेत्रहरुले प्रायः नदिहरु र तालहरु नै दोहन गर्दैआइरहेका छन । मन गह्रुंगो भइरह्यो ।
भोलीपल्ट बिहानको झुल्के घामले (५.३० बजे) पेन्सलभेनियाको पिट्सबर्गको दर्शन गरायो । पुलैपुल र स्टिलको सहर भनेर चिनिने पिट्सवर्ग ओर्लनेहरु बाहेक सबै यात्रुहरु निद्रा मै थिए । पिट्सवर्गको डाउनटाउन ओर्लने ओहायो नदिको पुलबाट देखिएको पुर्वको बादल छेडिनसकेको घामको रङ्ग मिठो र अद्भुत थियो । अमेरीकाको मुल(जननी) नदि अर्थात जीवन नै मानिने मिसीसीपीको मुख्य पुर्विय शाखा नदि ओहायोको उदगम बिन्दुमा आफुलाई पाउँदा रेलको यो क्यापीटल लिमीटेडको टिकट लिएकोमा सुधा जीलाई धन्यवाद भन्दै सोच्दै थिएँ, आफ्नै नाउँको मुहान नभएको यो नदि पिट्सबर्गको उत्तरपुर्वबाट झर्ने अलेघेने र दक्षिण पुर्वबाट आउने मोनोन्गहेल नदिहरु मिसीएर पिट्सवर्ग ओर्लेपछि ओहायोको नाउँले चिनिदोरहेछ र यसले ओहायो राज्यको सिन्सिनाटी, मध्यपश्चिम राज्य केन्टकीको लुइभिल हुदै केन्टकी, मिसाउरी र इलिनोइ तिन राज्यहरुको संगममा पुगी आफुलाई पिट्सवर्गमा पाएको नाउँ ओहायो समेतलाई मिसीसीपीमा समाहित गर्छ । मध्य पश्चिमको मोन्टानादेखि पुर्वको पेन्सलभेनियासम्म जलाधार क्षेत्र भएको मिसीसीपीलाई अमेरीकाको भाग्य र दुःख दुबै बगेर मेक्सीकोको खाडीमा पुर्याउने नदिको रुपमा चिनिन्छ ।
केहीवेरको यात्रु ओर्लने र उक्लने क्रम सकिए सँगै लम्वेतान लिकमा गुड्न थालेको रेलले मेरील्याण्डतिरको दिसा लिन्छ । घाम उक्लीदै गर्दा देखिएका दृष्यहरुले पश्चिमी पेन्सलभेनिया, पिट्सवर्ग सहर र दक्षिण पुर्व झर्दै गरेको रेल अब केही सय मिटर अग्ला हरिया डाँडाहरु, त्यसै डाँडाका बिचै बिच बनेका उपत्यकाहरु, उपत्यका छिचोल्दै बगेका नदिहरु वारपार गर्दै कुदिरहेको थियो । पहाड, उपत्यका र नदि किनारहरुका ससाना बस्तीहरु, बस्ती वरपरका तरेली परेका चौडा खेतीयोग्य जमिन, बिशेष गरी मकै खेतीले ओगटेका ति फाँटहरु मनमोहक थिए । सानो छँदा हाजिरीजवाफका कितावहरुमा अमेरिकामा सबैभन्दा धेरै मकै, गहुँ र भटमास उत्पादन हुन्छ भन्ने पढ्दा अचम्म लाग्थ्यो । मकै, गहुँको रोटी, ढिडोको परीकार खाने त हामी नेपाली हौं, हाम्रा डाँडापाखामा मकै खेति गरेको देखेको कसरी पिज्जा, वर्गर जस्ता मिठा मिठा खानेकुरा खाने अमेरिकामा मकै उत्पादन हुन्छ होला झैं लाग्थ्यो र निकै पछिसम्म पनि लागी नै रह्यो । अमेरिकी खाध्य उत्पादनको लागी उर्वर मानिने मध्य पश्चिमका अमेरिकी राज्यहरु मध्ये ओहायो, इन्डीयाना र इलिनोइको यात्राले उ बेला मनले नपत्याएका कुराहरु साँचो रहेछ भनि अब आफ्नै आँखाहरु नै भन्दै थिए ।

झण्डै महाभारतको तल्लो भागदेखि उपत्यकाहरु र दुन हुदै भित्री मधेशहरुको झल्को दिने भुभागहरु, त्यसै बीचैबीच बग्ने साना ठुला नदिहरुको बहाव र बाक्ला हरीयाली जँगलहरुको यात्राले नेपाल र आफ्नै देशको प्राकृतिक सौन्दर्यता झल्काइरह्यो । पहाडी भेगका उकाली, ओराली र नागबेली बाटोले गर्दा रेलको गती मन्द थियो । स्वभाविक रुपमा समथर मैदानको जस्तो कुदाइ थिएन तर शिकागोदेखि वासीगंटनसम्मको यात्रामा सबैभन्दा आनन्दको ठाँउ नै यही क्षेत्र थियो जहाँ सबै प्राकृतिक सौन्दर्यहरुको समागम थियो । हामी नेपालीहरुको लागि त आफ्नै खोला, पहाड र बस्ति घुमे झैं लाग्दै थियो ।
रेल भित्रको हावाको गतिबिधिलाई सन्तुलन गर्न वातानुकुलीत सुविधा हुने नै भयो, त्यसले सबैलाई अलि चिसो भएको अुनुभुति गराउँदै थियो । रेलको यात्रा गर्नेहरु सबैले आफुसंग पातलो ज्याकेट वा ओड्ने बोक्ने गर्दा बुद्घिमानि हुँदोरहेछ । हामी त्यसमा अभ्यस्त नभएको कारण अन्य केही यात्रु जस्तै अलि चिसो खादै यात्रा गर्दै थियौं तर त्यो चिसोलाई रेलको डिब्बै पिच्छे भएका सफा सुग्घरी क्यान्टीनहरुका चिया कफीले भगाउँदै थियो ।
३/४ बर्षको उमेरमा आमाबुवाको काशी यात्राको क्रममा सँगै झुण्डिएर, बोकिएर गरीएको रेल यात्रालाई बिर्सने हो भने कहिले भारतको सुगौली र कहिले रक्सौलदेखि दिल्ली र दिल्लीदेखि जम्मुको बैश्णुदेवीसम्मको रेल यात्रा बुझ्ने भएपछिको मेरो पहिलो रेल यात्रा थियो । अर्को केही बर्ष अघिको रोमदेखि भेनिससम्मको हिँउका थुम्कोहरुको फेदैफेद कुदेको युरापेली रेलको यात्राको बेग्लै अनुभव छ । यात्रा सम्बन्धि सम्पुर्ण जानकारी, यात्रा गर्ने रुटको बारेमा दिइएको जानकारी, समय तालीका र ट्रेन स्टेसनमा आइपुग्ने समय र लगेजका कुराहरुको जानकारी टिकटसँगै इमेलमा आउने भएकोले यात्रा गर्नु अघि यात्रुले कुनै झण्झट व्यहोर्नु नपर्ने र रेलको आफ्नै वेबसाइटमा गएर टिकट काट्न मिल्ने भएकोले अन्य ट्राभल एजेन्सी खोजिरहन नपर्ने थियो । २० घण्टाको लगातार रेल यात्राको समय सुन्दा कताकता डर र रोमान्चकता दुबै थियो । हामी बास्तवमै अमेरिकी रेल यात्राको अनुभव पहिलो पल्ट बटुल्दै थियौं । एकोहोरो, लामो र अनकन्टार लाग्ने यात्रा गर्न हौसीने मध्येको एक भएकोले म भित्र चाहिँ डर भन्दा कौतुहलता र रोमान्चकता तिब्र थियो तर परिवारका अन्य सदस्यहरुको धैर्यता र भावना विनाको यात्रा आनन्दमय हुन सक्दैन । जब सबैजना रेलको यस लम्बेतान यात्रा गर्न तयार भए तब यात्राको अनुभव मिठो हुनेमा शकैं भएन ।
रेलले पश्चिम भर्जिनियाको सीमाना छिचोल्दै मेरील्याण्डको भुमी टेक्दै गर्दा हरिया पहाडका टुप्पोहरुमा घुम्दैगरेका बिशाल हावामीलहरु चित्ताकर्षक देखिन्थे । हरिया डाँडामाथिका लहरै सेता पंखाहरु, एकातिर हेर्दा राम्रो देखिने अर्कोतिर वेगले चल्ने हावाशक्तिको सदुपयोग गरी बिजुली उत्पादन गरी त्यस भेगमा उर्जाको आवश्यकता पुरा हुदै थिए । सरकारी लगानी र त्यसको व्यबस्थापनले कसरी देशको बिकासमा टेवा पुग्छ भन्ने ज्वलन्त उदाहारण त्यहि भयो । हिमाल र पहाडको देश भनेर चिनीने नेपालका उच्च पहाडी भेगमा चल्ने हावाको गति थाहा नभएको को होला त्यसमाथि यस बिषयमा बर्षैपिच्छे गरिने अध्ययन अनुसन्धानले सरकारी निकाय भलिभाँति जानकार पनि छ । पहिलो प्राथमिकतामा परेको पानीबाट उत्पादन गर्ने बिजुलीमा लगानी र काम गराइ र उत्पादनको अबस्था देख्दादेख्दै हावाबाट निस्कने उर्जाको के कुरा ? नेपालका बिकट भुभागहरुमा ठुला र महंगा हाइड्रो प्रोजेक्ट सम्भव नहुने ठाँउको लागी यस्ता हावामीलहरु निकै उपर्युक्त देखिन्छ । मेरो देशमा यस्तो दृष्यहरु कहिले देख्न पाइएला भन्ने मनको लड्डु घ्युसंग खादै झ्यालबाट तन्कदै फोटो खिच्दै गरेका यात्रुहरुलाई हेर्दा लाग्यो तिमीहरु त यही देशका नागरीक हौ, तिम्रै देशको बिभिन्न भेगहरुमा भएको बिकास हेर्दै छौ, रमाउँदैछौ, आनन्द साथ फोटो लिदैछौं । हामी पनि फोटो त लिदैछौं तर मनमा केही अभाव र केही हिनताबोध भने छ ।
अब रेल मेरील्याण्ड र भर्जिनिया सिमाना हुदै वाशिगंटन तिर वग्ने पोटोम्याक नदी किनारै किनार लम्किदै थियो । डेलावेर बेसीन छिचोल्दै आन्द्र महासागरमा मिसीने पोटोम्याक नदी र यसको जलाधार क्षेत्र अमेरिकी राजधानी डी सीको पानीको श्रोत पनि रहेछ । बाटो छोट्टीदै गर्दा किन आमट्रयाकका रेलहरु तोकिएको समयमा हिड्दैनन र तोकिएको समयमा गन्तव्यमा पुग्दैनन भन्ने ठुलो प्रश्नबीच न्युयोर्कबाट अल्बने र अल्बनेबाट रोचेस्टर अनि रोचेस्टरदेखि शिकागो यात्रा गर्दाको अनुभुति र अनुभवले बताउदै थियो । रेलका नियमित यात्रुहरुको रेल व्यवस्थापन प्रतिको रोषपुर्ण टिप्पणीहरु र रेल कर्मचारी प्रतिको व्यवहारले प्रष्ट पारेको थियो । वास्तवमा रेलको यस्तो ढिलाइ हाम्रो अपेक्षा भित्र पनि थिएन । तोकिएको समयमा कुनै पनि रुटमा रेल पुगेको थिएन । रेलका कर्मचारीहरु रेलको ढिलाइकोलागी क्षमाप्रार्थीका शब्दहरु व्यक्त गर्नु बाहेक उनिहरुको बसमा केही थिएन । वाशिगंटन आइपुग्दा पनि तोकिएको समयभन्दा एक घण्टा ढिला गरी दिउँसोको १ बजाएको थियो । रेलको ढिलाइको कारण सोचे जस्तो गरी वासिगंटनको रमणीय क्षेत्र घुम्न नपाए पनि राजधानीबाट बेलैमा रेल गुडोस र बेलुकाको ९ बजे भित्र न्युयोर्क पुगेर तातो खाएर सुत्न पाइयोस भन्ने चाहना नर्थ रिजनल रेलले चैं पुरा गरीदियो । रेलको समयको गडबडीलाइ आँखा चिम्लीने हो भने यो भेगको पहिलो रेल यात्रा अनुभव सुखद, आरामदायी र रोमान्चक नै रह्यो ।