कुमार न्यौपाने, न्युयोर्क
ल्याण्ड अफ लिङ्गकन भनिने इलोनइको राजधानी स्प्रिङफिल्डको पृष्ठभूमीमा इङ्गलिस ब्ल्याक टि र स्विटनर पुरा पैसा लिएर पनि पेन्डामीकको नाउँमा चिसो ब्रेकफास्टको (स्प्रेड ब्रेकफास्टको व्यवस्था हुनुपर्नेमा) प्याकेटसंगै शहरी दृष्य देखिने लाउन्जबाट देखिएको शिकागो भने भब्य थियो । अघिल्लो दिनको शिकागो आर्किटेक्चरल क्रुज टुरले शहरको भित्री र मिसीगन तालबाट वाहिरी रुपहरु र्छलङ्ग पारेको थियो । शिकागो नदि र मिसीगनको पानी मिसीएर बनेका विशाल Y अकारको नहरहरुले भेनिसको झझल्को दिदैथियो तर नहरका दुबै छेउमा ठडिएका गगनचुम्बी भवनहरु र त्यसको निर्माणको समय, बास्तुकला र इतिहास सुन्दै गर्दा जो कोहीलाइ पनि भिन्न र रोमान्चित बनाउँछ । चौबीस क्यारेट सुनले मोरीएको छाना भएको हार्डरक होटल भवन हेर्दा अचम्म लाग्यो । हाम्रो तिर सुप्रसिद्ध मन्दिरका छानाहरुमा सुनको जलप लगाउने गरेको सुनेको, पशुपतिनाथको मन्दिरको छाना, ब्रुनाइको सुल्तानको महल र पुर्व अमेरीकी राष्ट्रपति ट्रम्पको घरको सुनौलो इन्टेरीयरको बारेमा पढेका कुराहरु बाहेक सुनले ढपक्कै ढाकेको कुनै होटल भवन यसअघि नदेखेकोले पनि होला, यो दृष्य नौलो नै लाग्यो । थुप्रै अग्ला भवनहरुको कालीगढी हेर्न लायक थिए तर सियर्स टावरको नामले परिचित (आजकल विलिस टावर) प्रख्यात भवन शिकागोको पहिचान बनेर निकै अघिदेखि उभिएको पाइन्छ । विगतको अग्लो भवनको पच्चिस बर्षे बिश्व रेर्कडको पगरी यही भवनसंग छ । जुन भवनको ११० औं तल्लाबाट आकाश खुलेको दिन मिसीगन पारीका छिमेकी सहरहरु र राज्यहरुको समेत दृष्यावलोकन गर्न सकिने रहेछ ।

मिसीगन तालको उत्तरबाट दक्षिणतिर लाम्चिएको ४२ कि.मी. लामो शिकागो लुपमा गर्न सकिने पैदल, साइकल वा ट्रेनको यात्राको क्रममा देखिने शिकागो स्काइलाइन, अन्य आकर्षणहरुमा मिलेनीयम पार्क, मेग्नीफिसेन्ट लाइन, नेभि पिर, आर्ट इन्टिच्युट अफ शिकागो, लिङ्गकन पार्क, ग्रान्ट पार्क, बिश्व कै ठुलो मध्येको एक बकिङ्गघम फाउण्टेन र झण्डै २४ वटा पहेंला बालुवाका विचहरुको दृष्यले आनन्द दिन्छ । मिसीगन तालको किनारै किनार चिसो पानीसंग हेलिदै हिड्नुको आनन्द बेग्लै हुन्छ । सन १८७१ को भिषण आगलागी पछि निर्माणको पुर्नजागरणले आकाशिएको शिकागोका भवनहरु आखिरमा अमेरीकाकै गगनचुम्बी भवन निर्माणको पर्याय नै बनेको इतिहासले भन्छ । अग्ला भवन निर्माणपछि सहरीकरणले गती लिएसंगै शिकागो विश्वको आर्थिक शहरको रुपमा अघि बढ्यो र बसाइसराईंले शहरलाई चलायमान गर्दैगयो । बिशेष गरी १९१० देखि १९३० सम्मको दक्षिणी अश्वेतहरुको बसाईसराईको जागरण मानिने घटनाले शिकागोलाई अश्वेतहरुकै शहर भनेर चिनाउँदै गयो तर दुर्भाग्य भनौं यसरी भएको बसाइंसराईंले अव्यबस्था र अपराधलाई पनि संगसंगै ल्यायो ।

अश्वेतहरुको आगमनले अपराध ल्यायो भन्ने आशय त होइन तर कुनै पनि समाजको विकाशसंगसगै चुनौतीहरु पनि गुटमुटिएर आइपुग्छन । ति चुनौतीहरु मध्ये शिकागोको अध्याँरो पक्ष मानिने अपराधिक घटनाहरुमा गन सुटिङ्ग नै अग्रपङ्गतीमा देखिन्छ र आजसम्मको गन सुटिङ्ग र अन्य आपराधिक गतिबिधीहरुलाई बिश्लेषण गर्ने हो भने बिशेष गरी यस्ता घटनाहरु अस्वेत वाहुल्य क्षेत्रहरु र इटालीयन अमेरीकनहरुको बोसगिरीको (स्थानिय भाषामा भन्दा गुण्डागिरीहरुले) प्रभाव क्षेत्रहरुमा भएको एफ बि आइको रेर्कडले देखाउँछ । यस रोगले अन्य अमेरीकी सहरहरुलाई जसरी गाँजेको थियो र छ, शिकागो पनि अछुतो रहेन सकेको छैन । यात्राको क्रममा यो प्रसङ्ग किन उठ्यो भन्ने प्रश्न उब्जिन पनि सक्छ । जब शिकागोको यात्राको लागी ट्रेनको टिकट बुकिङ्ग गरीयो, भोलीपल्ट नै शिकागोमा ठुलो मास सुटिङ्गको घटना घट्यो र कैयन निर्दोष मानिसहरुको हताहती भयो । दैनन्दिन दोहोरीरहने यस्तो घटनाले काटिसकिएको टिकट रद्ध गरी यात्राको गन्तब्य फेर्नेसम्मको कुरा भयो । पुर्ण उत्साह नभएपनि जसोतसो मिलेको समयको सदुपयोग होस भनेर अन्य उत्तरपुर्वी ठाँउहरुको घुमाइसंगै यो मध्यपश्चिमी भव्य तर केही अशान्त सहरको चार दिने घुमाईको योजना बन्यो । नभन्दै यहि सहरको चार दिने घुमाइको क्रममा चारै वटा गन सुटिङ्गको घटनाहरु घटे र केही निर्दोष बालकहरु मारिएको समाचार पढ्नुपर्यो । ब्रेकफास्ट लाउन्जमा चिया कफीसंगै होस या लविको टि भी समाचार हेर्दा यस्तो अपृय घटनाहरुको समाचारले गह्रुङगो मन पार्दै दिन भरी सहर र वरपर घुम्न त्यति आनन्द लागीरहेको हुन्थेन तर घुम्ने उद्धेश्य बोकेर हिडेको यात्रीहरुले जसरी पनि घुम्नु कर्म थियो ।
विगतमा न्युयोर्कदेखि लस एन्जलस वा सन फ्रान्सिस्कोमा जति पनि माफीया सम्बन्धी गतिबिधिहरुमा संलग्न थिए र केहि आज पनि छन ति सबै कतै न कतैबाट मास सुटिङ्गका घटनाहरुमा जोडिएको अध्ययनले देखाएको छ । त्यसमा पनि इटालियन अमेरीकनहरुको संलग्नता नै किन ? यो यक्ष प्रश्न छ । शताब्दी अघिदेखि अल कापानो, बग्स मोरान र टोनी अर्काडोहरुले निमार्ण गरेको माफिया घरानाहरुको रहलपहलको रुपमा आज पनि त्यस्ता गतिबिधिहरु भइरहेको देखिन्छ र शिकागोको सबैभन्दा खतरनाक क्षेत्र मानिने फुलर पार्क, वेस्ट गारफिल्ड पार्क र वासिङ्गटन पार्क जस्ता भागहरु र केहि अन्य भागहरुमा आम अमेरीकी समाजमा घट्ने घटनाहरु भन्दा झण्डै ४०० गुणा बढि घटनाहरु घट्ने गरेकोले यति भव्य र सुन्दर भइकन पनि शिकागो यात्रामा रहँदा आफु कसरी सजग र सुरक्षित रहनुपर्छ भन्ने कुरालाई महत्व दिन जरुरी देखिन्छ । सकेसम्म यस्ता बिषयहरुमा जानकारी राखी त्यस्ता ठाँउहरु आफ्नो घुम्ने ठाँउको सुचीबाट हटाउँदा नै बुद्धिमानी होला ।
अर्को कुरा …शिकागोलाइ महत्व दिएर त्यँहा पुगेपछि मिसीगन तालकै किनारमा रहेको अर्को राज्य विस्कन्सनको राजधानी मुलवाकीको एक दिने यात्रा गर्न सम्भव हुन्छ । आफ्नो निजी साधन वा भाडामा लिन सकिने कार, जिप वा बस वा ट्रेन चढेर लगभग एक घण्टा तिस मिनेटमै पुग्न सकिने भएकोले सहज यात्रा गरी यात्रा गरीएको ठाँउको सुचीमा अर्को नयाँ ठाउँ थप्न सकिन्छ । मुलवाकीले हजारौं बर्षदेखिका रैथानै अमेरीकी आदिवासी र आजको समयको मिश्रीत जातजाती, धर्म, संस्कार र परीकार समेटेको समाजलाई प्रतिनिधित्व गरेको देख्न पाइनेछ ।
यसरी घुम्ने र त्यसवारेको सामान्य गन्थन रहेसंगसंगै न्युयोर्क सहरदेखि आल्बनीमाथीको कहोस झरना, रचेष्टरवरपरको ओन्टारीयो ताल होस या शिकागोको मिसीगन ताल जस्तो राम्रो र रोमान्चक ठाँउ घुम्ने क्रममा देब्रे घुँडा निरन्तर दुखि नै रह्यो । घुँडाको जोर्नीमा देखापर्ने आर्थराइटिसले बेलाबेला सताउने गर्छ । प्रस्क्राइव्ड औषधीका बट्टाहरु बोक्न बिर्सेसंगै यात्राको दुखाइ त सहनै पर्यो त्यसमाथि उसैबेला परेको अनलाइन असाइनमेन्टस्हरुले पेलि नै रह्यो । बोक्न बिर्सीएको औषधी किनेर ल्याउ न त भन्दा किन्नै नपाइने नियमले यात्राभरी जिल्ल परिरहें ।
विश्वको स्वच्छ पानी भएको तालहरु मध्ये मिसीगन तालको सफा पानीले सिंचीत यो भौतिक या बाह्य रुपमा सुन्दर र व्यबस्थित सहर किन धमीलो तिर उन्मुख छ? किन आफ्नै परीवेशलाई भययुक्त बनाउँदैछ ? यी प्रश्नहरुले सन २०१८ को तथ्याङ्गकले देखाएको झण्डै ६ करोड पर्यटक बार्षिक रुपमा भित्र्याउन सफल यो र यस वरपरको क्षेत्र किन दुषित हुदै गयो त भन्ने कुराले जो कोहिलाइ पनि घच्घच्याउँछ । पछिल्लो अमेरीकी सरकारको बन्दुकमा प्रतिबन्ध लगाउनु पर्छ भन्ने निती र बहसले यहि देखाउदैछ कि अनाहकमा निर्दोष मानिसहरुको मृत्युले अमेरीकी समाज साच्चीकै प्रताढित छ ।
यस्तै सहज÷असहज क्षणहरुले नै यात्रा अनुभवहरुलाई रोमान्चक र गाढा बनाउँछ । प्रचुर प्राकृतिक श्रोतसाधन र गन्तव्यहरु प्हिचान भएतापनि भौतिक पुर्वाधार र पर्यटकिय व्यवस्थापनको अभावले हाम्रो देश विश्वको कुनै एउटा सहरले मानव निर्मीत भौतिक संरचना देखाउन भित्र्याउने पर्यटक संख्याको छेउछाउ पनि पुग्न नसक्नुले हाम्रो अक्षमतालाई दर्शाउँछ । सहज, सरल र सुरक्षित यात्रा सबैको चाहना हुन्छ । यस्तै यात्रालाई समर्थन गर्दै एक बिद्धान भन्छन, ”विश्वबिद्यालयको सयौं पुस्तक पढेर पाइने विद्यावारीधिको ज्ञान भन्दा एक पटकको लामो यात्राले त्यो भन्दा निकै अब्बल ज्ञान दिन्छ” ।
तसर्थ सुरक्षित यात्रा गरौं ।