शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभाव शेयर बजारमा परेको छ ।

अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

उक्त प्रभावले आइतबार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ बराबरको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा विकास बैकको समूह रहेको छ ।

बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढे ।

नेप्सेका अनुसार आज ३५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसमध्ये २१ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । अन्य कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

माल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रीन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज ८ करोड ६४ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा हिमालय डिस्टिलरीको शेयर कारोबार भएको छ । यसको ८ करोड ३७ लाख र न्यादीको ८ करोड ३३ को कारोबार हुँदै शीर्ष तीनमा रहे ।