काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उत्साहजनक वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले नेप्से बढेको हो । नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । आइतबार कुल १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भयो ।
१ करोड ४ लाख ७ हजार १२३ कित्ता सेयर किनबेच भएका छन् । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ । आज उत्पादनमूलक समूह सबैभन्दा बढी १३५.२६ अंकले बढ्यो । आज आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट र प्रोग्रसिभ फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त भएसँगै राष्ट्रिय अर्थनीतिमा उनको उपस्थिति नहुने भएको छ । यसले समेत लगानीकर्तामा उत्साह थपेको अनुमान गरिएको छ । खतिवडासँग लगानीकर्ता सधैभरी तर्सने गर्छन् ।