‘सकेसम्म बैंक नआजौं, घरबाटै अनलाइन कारोबार गरौं’

काठमाडौं । नेपालमा कोभिड–१९ को महामारीका बीच बैंकर्ष संघ नेपालले ग्राहकलाई अनलाइन कारोबारलाई जोड दिन आह्वान गरेको छ । सकेसम्म बैंकमा नजान आग्रह गर्दै संघले जोखिम न्यूनिकरणका लागि घरबाटै बैंकिङ कारोबार गर्न सुझाव दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म घरबाटै कारोबार गर्न संघले आग्रह गरेको हो ।

डिजिटल बैंकिङ (मोबाइल\इन्टरनेट बैंकिङ) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्न संघले आग्रह गरेको छ ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ गर्न सकिन्छ ।

डिजिटल बैंकिङ प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन पनि संघले आग्रह गरेको छ ।

आफ्नो खाता वा खातावाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न संघले आह्वान गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकहरुमा संघले आग्रह गरेको छ ।