सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको समेत ज्यान गएको छ ।

उनको बुधबार राति १२ बजे निधन भएको हो । उनको मृत्यु ७ हजार ९ सय मिटर उचाइस्थित चौथो क्याम्पमा भएको जनाइएको छ । चौथो क्याम्प भन्दामाथि हिलारी स्टेप उक्लिँदै गर्दा आरोही लियूमा थकान र स्नो–ब्लाइन्डनेस (हिउँका कारण हुने अन्धोपना) को सामना गरेपछि उनलाई क्याम्प ४ मा झारिएको थियो । त्यही नै उनको मृत्यु भएको हो ।