सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति उत्तरदायी बन भन्दै केही दिन अगाडी एक स्वतन्त्र अभियान शुरु भयो । इनफ इज इनफ अभियानबाट युवाहरु स्वतःस्फुर्त रुपमा सडकमा आइ सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसबेला सरकारले प्रहरी लगाएर शान्तीपूर्ण आन्दोलनमा दमन गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा हानेर तमासा देखाइएको थियो ।

उक्त आन्दोलनको माहौल सुक्नै नपाउँदै सडकमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भन्दै जुलुस देखिन थालेका छन् । चोकचोकमा केही दर्जन मानिस भेला भएर प्रधानमन्त्रीको समर्थन र पार्टी भित्रैकै अन्य नेताको विरोधमा नारा लगाउँछन् ।

प्लेकार्डमा प्रधानमन्त्रीको देवत्वकरण गरिएको हुन्छ । एकतर्फ शीर्ष नेताको पहलमा वार्ताबाट समस्या समाधानमा प्रयास जारी रहँदा सडकमा भइरहेको यो तामासालाई भने धेरैले नौटकींको संज्ञा दिएका छन् ।

आफ्नै नेता सरकारमा रहेको, आफ्नै पार्टी भित्र सरकारका कामको व्यापक आलोचना भइरहेको, प्रधानमन्त्रीमाथि नेताहरुमाथि गम्भीर धोकाको आरोप लागिरहँदा उनको समर्थनमा भन्दै निस्किएका जुलुसले प्रधानमन्त्रीको तानाशाही शैलीको झल्को फेरी एकपटक दर्शाएको छ ।

कोरोनाको वेवास्ता गर्दै सडकमा प्रधानमन्त्रीको जयजयकार किन ? भन्दै आइरहेका प्रश्नको भने जवाफ स्वयमः प्रदर्शनकारीसँग समेत छैन ।