काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण र दायित्वको साँवाब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ताकेता गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा समस्याग्रस्त घोषित गरेका सहकारीहरुका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समितिले १५ दिनको समय दिएको छ ।
यसअघि पटक पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरका पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म संस्थालाई बुझाउनुपर्ने ऋण र दायित्व बाँकी रहेको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
आगामी १५ दिनभित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज चुक्ता नगरेमा कानूनबमोजिम कारबाही र सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम राहदानी रोक्का र नाम कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।
सरकारले स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतलाई समस्याग्रस्त घोषणा गरेको छ ।
त्यस्तै, कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सहकारीअन्तर्गत परेका छन् ।