सरकारी जागिरको उमेरहद अब ६० वर्ष

काठमाडौं । अब सरकारी कर्मचारीले ६० वर्षसम्म सेवामा कार्यरत रहन पाउने भएका छन् । यसअघि ५८ वर्ष रहेको अनिवार्य अवकासको उमेर दुई वर्ष थप भएको हो ।

नेपालीको औसतः आयु बढ्दै गएसँगै सरकारले निजामती कर्मचारीको उमेर हद बढाउने प्रस्तावसहित कानून बनाएको छ । निजामति सेवा ऐनको मस्यौदामा अनिवार्य अवकासको उमेर हद ६० वर्ष राख्न संसदीय समितिमा सहमति जुटेसँगै अब उमेर हद बढ्ने पक्का भएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार यस मस्यौदामाथि छलफल भयो । बैठक बुधबारसमेत चलेको थियो । कर्मचारीको उमेरहद बढाउन यसअघि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली संयोजकत्वको एक समितिले समेत सिफारिस गरेको थियो।

उमेरहद बढाउँदा राज्यलाई पेन्सनमा जाने ठूलो रकम बच्ने समेत तर्क सरकारको रहेको छ ।

५८ वर्षमै अवकास पाउँदा मानिसको अझै सक्रिय रहने उमेर हुने र थप नियुक्तीका लागि कर्मचारीले बढी चलखेल गर्ने गरेकोमा सांसदहरु एकमत देखिएका छन् । ऐनको मस्यौदामा समितिमा छलफल जारी छ ।

कर्मचारीले विदेशी पीआर लिएमा नेपालमा पेन्सन नपाउने, स्थानीय र प्रदेश तहमा काम नगरेसम्म बढुवा नपाउने लगायत महत्वपूर्ण विषयमा सहमति जुटिसकेको छ ।