साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

काठमाडौं । सरकारले बजेटमा घोषणा गरे अनुसार साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको छ । कम्पनीले आज मूल्यसूची सार्वजनिक गर्दै बजेटको कार्यान्वयन थालेको हो । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको थियो ।

साल्ट ट्रेडिङले आज आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको छ । अब बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसामा किन्न सकिने छ । खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको छ । पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा किन्न सकिने छ ।

पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने छन् । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।

काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्यास भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।