सिंहदरबार अगाडी प्रहरीमाथि हातपात गर्ने चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा

काठमाडौं । लकडाउनकै बीचमा सिंहदरबार अगाडी पुगेर धर्ना दिने, निषेधित क्षेत्र तोड्ने र प्रहरीमाथि हातपात गने चिनियाँ नागरिकमाथि अभद्र व्यवहारमा मुद्दा चल्ने भएको छ ।

शुक्रबार सिंहदरबार अगाडी प्रहरी र चिनियाँ नागरिकबीच घम्साघम्सी भएको थियो । त्यसक्रममा ३३ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

उनीहरुमध्ये ४ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएका छ । ४ जनाले प्रहरीको बर्दी समात्ने तथा हातपात गरेका थिए ।

लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने माथि अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको हो ।

महानगरीय प्रहरी परिसरले आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने भएको छ । ४ जनाबाहेक अन्य सबै भने छुटिसकेका छन्  ।

प्रहरीका अनुसार ४ जनामध्ये गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ ।

चिनियाँ नागरिकले घर जान पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।