हेटौडा । सिन्धुपाल्चोकमा बाढी र पहिरोले पूर्ण रुपमा घर क्षति भएका परिवारको घर सरकारले बनाइदिने भएको छ । पूर्णरुपमा क्षति भएका घर बागमती प्रदेश सरकारले निर्माण गरिदिने निर्णय गरेको हो । स्थानीय तहले जग्गा उपलब्ध गराउने छ । उक्त जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकको निर्णय छ ।
सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । बैठक मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ । समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
यो रकम राहत, घाइतेको उपचार, पुर्नस्थापना जस्ता काममा खर्च गरिने भएको छ । यसअघि प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । अघिल्लो साता आएको बाढी पहिरोमा परी ३ जनाको निधन भएको थियो । २० जना अझै वेपत्ता छन् ।