न्यूयोर्क
राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निकट सहयोगी स्टिभ ब्यानन पक्राउ परेका छन् । ट्रम्पको २०१६ को मूख्य चुनावी एजेन्डा रहेको मेक्सिकोको सिमानामा पर्खाल लगाउने भन्दै उठाएको पैसा दुरुपयोग गरेको पाएपछि विहीबार बिहान ब्यानन सहित चार जना पक्राउ परेका हुन् ।
ब्यानन २०१६ को चुनावमा ट्रम्पको क्याम्पेन म्यानेजर थिए । ट्रम्प निर्वाचित भएपछि उनले ह्वाइट हाउसमा प्रमुख रणनीतिकारको रुपमा समेत काम गरे । ट्रम्प निर्वाचित भए लगत्तै अमेरिकी एयरफोर्सका भेटरान ब्रायन कोल्फेजले ‘वि बिल्ड द वाल (हामी पर्खाल बनाउछौँ)’ नामक अभियान सुरु गरि अनलाइनबाट चन्दा संकलन सुरु गरेका थिए । उनलाई ब्याननले सघाएका थिए । उनीहरुले दुई करोड ५० डलरभन्दा बढि पैसा उठाएका थिए । त्यसमध्ये लाखौँ रकम होटल, गाडी बुकिङ, निजी क्रेडिट कार्डको विल तिर्न, डुंगा चढ्न लगायतमा खर्च गरेको पाएपछि न्यूयोर्क स्थित संघीय सरकारी वकिलको कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ब्यानन र कोल्फेज सहित एन्ड्रु बाडवलाटो र टिमोथी शेअ छन् ।
उनीहरु चारैजना बिहीबार बिहान पक्राउ परेका हुन् । कनेक्टिक स्थित समुन्द्रीतटबाट डुंगा सवार गर्न लागेका बेला उनलाई अमेरिकी पोष्टर सेवाका अधिकारीले पक्राउ गरेका थिए । ब्याननलाई आजै न्यूयोर्क स्थित संघीय अदालतमा उपस्थित गराइने जनाइएको छ । ब्यानन नश्लभेदी नारा प्रचार एवं निर्माणमा सफल ब्यक्ति हुन् । ट्रम्प क्याम्पेन कमजोर अवस्थामा रहेका बेला उनले कमान सम्हालेका थिए । त्यसपछि मेक्सिकन लगायत दक्षिण अमेरिकी नागरिक एवं आप्रवासी प्रति चर्को घृणा प्रवाह गरेकै बलमा ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए ।
ब्यानन अघिका ट्रम्पका क्याम्पेन म्यानेजर पउल म्यानाफोर्ट, रणनीतिकार रोजर स्टोन, वकिल माइकल कोहेन लगायत बिभिन्न मुद्दामा दोषी ठहर भइ सकेका छन् । ब्यानन पक्राउपछि ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै ट्रम्पले पर्खाल बनाउन रकम उठाइएको प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।