काठमाडौं । सुनकोशी ३ जलविद्युत आयोजना नेपाल र बंगालदेशको संयुक्त लगानीमा बन्ने भएको छ । यो आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमति भएको छ । बिहीबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी ३ अगाडि बढाउन सहमती जुटेको छ ।
ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरको थिए । बैठकमा सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको छ ।
विद्युत् विकास विभागले तयार गरेको प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेश सरकार सहमत भएको छ । यो आयोजनाको क्षमता ६८३ मेगावाट हो । यो जलाशययुक्त जलविद्युत आयोजना हुनेछ । काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा आयोजना पहिचान भएको हो । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।