सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ ।

मंगलवार सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।