काठमाडौं । यो महिना सुनको भाउले अन्तरराष्ट्रिय बजारमा तरंगनै ल्याएको छ। सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाएर बजारलाई तरंगित बनाएको हो । अमेरिकी केन्द्रिय बैंकले बैंक ब्याजदर बढाउने आँकलन पश्चात सुनमा लानी गर्ने लगानीकर्ताहरुको ओहिरो लागेको छ । जसले गर्दा विश्वभर सुनको मूल्यले रेकर्ड कायम गरिरहेको छ ।
यसैबीच नेपालको अर्थतन्त्रमा पनि सुनको आकाशिएको भाउले प्रभाव पारेको देखिन्छ। नेपालमा पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ ।
आज सुन हालसम्मकै उच्च अर्थात १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ। गत फागुन २५ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १६ सय ७० रुपैयाँ पुगेको छ ।