सुनको मूल्यमा रसिया भ्याक्सिनको प्रभाव, एकै दिन ऐतिहासिक गिरावट

काठमाडौं । रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको औषधीबारे आएका सकारात्मक खबरको प्रभाव सुनको मूल्यमा परेको छ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार ऐतिहासिक गिरावट देखिएको हो । बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला चार दिनमा सुनको भाउ लगातार घटिरहेको छ। महासंघका अुनसार नेपाली बजारमा छापावाल सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको भाउ समेत ओरालो लागेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार २ सय १० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ तोलाको ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

कोरोना भाइरसको महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी थुप्रिएपछि भाउ निरन्तर उकालो लागेको थियो । तर, रसियाले भ्याक्सिन निर्माण गरेको खबरसँगै शेयर बजारमा शेयर बढ्न थालेको छ ।