काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ । अब दैनिक २० किलोसम्म सुन आयात हुन सक्ने छ । सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ ।
कोरोना महामारीमा विदेशी मुद्रा संचिती बढाउनु पर्ने भन्दै गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो ।
सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशोधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पुर्याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले उल्लेख गरेको छ ।
यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो । सुनचाँदी व्यवसायीहरुले भने दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग सरकारसमक्ष राखेका थिए ।