न्यूयोर्क
डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन सोमबार साँझ सुरु हुँदैछ । चार दिन चल्ने सम्मेलनले पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर कमला ह्यारिसलाई राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको रुपमा औपचारिक मनोनयन गर्नेछ ।
विसकनसनको मिल्वौकीमा तय भएको सम्मेलन कोरोना भाइरसका कारण अनलाइन (भर्चुअल) सञ्चालन हुन गइ रहेको छ । देशभरैबाट हुने नेताहरुको भाषण एवं सांगितीक प्रस्तुती टिभी एवं सामाजीक सञ्जालहरुबाट ‘लाइभ’ गरिनेछन् । चारै दिन पूर्वी समय अनुसार ९ देखि ११ बजेसम्म सम्मेलन सञ्चालन गर्ने डेमोक्रेटिक नेशनल कमिटीले जनाएको छ ।
सोमबार पूर्व प्रथम महिला मिचेल ओबामा, बाइडेनका प्राइमरी प्रतिश्पर्धी एवं सिनेटर बर्नी स्यान्डर्स, न्यूयोर्क गभर्नर एन्ड्रु क्योमो, ओहायोका पूर्व गभर्नर एवं रिपब्लिकन नेता जोन कसिस लगायत मन्तव्य राख्दैछन् । सुरु देखिनै ट्रम्पप्रति असहमत रहेका कसिस अन्ततः बाइडेनको समर्थनमै मन्तव्य राख्ने निचोडमा पुगेका हुन् ।
डेमोक्रेटिक राष्ट्रिय सम्मेलनको पूर्वसंध्यामा प्रकाशित सबै मत सर्भेक्षणहरुमा बाइडेनले राष्ट्रपति ट्रम्पप्रति प्रष्ट अग्रता लिएका छन् । सिएनएनले सबै सर्भेक्षणहरुको आधारमा तय गरेको औषत सर्भेक्षण अनुसार बाइडेनलाई प्रष्ट बहुमत (५१ प्रतिशत) अमेरिकीको समर्थन रहेको छ । ट्रम्पलाई ४२ प्रतिशत मात्र समर्थन देखिएको छ । सम्मेलन मार्फत डेमोक्रेटिक नेताप्रति थप ध्यान नजाओस् भनेर ट्रम्पले सोमबार देखि बिभिन्न प्रतिश्पर्धी राज्यको भ्रमण सुरु गरेका छन् । सोमबार मिनिसोटा र विसकन पुगेका ट्रम्पले एयरपोर्टमै आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए । उनी बाइडेन राष्ट्रपति भएमा अमेरिका ध्वस्त हुने भय बाँड्दै हिँडेका छन् ।
(तस्वीर- युएस न्यूज)