सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहिबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ ।

दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।

नेप्सेमा नौ महिना पछि अहिलेसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । गत फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार गरेर त्यसबेलाकै सबैभन्दा उच्च कारोबारको रेकर्ड बनाएको थियो ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।