सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित

काठमाडौं । सेयर बजार दोहोरो अंकले कमब्याक भएको छ । हिजो एकैदिन ११४ अंकले घटेको बजार आज दोहोरो अंकले फर्किएको हो ।

आजदिन भर नेप्सेमा तीव्र उतरचढाव आएको छ । बजार खुल्नसाथ ८५ अंकले घटेको बजार एकैछिनमा ७३ अंकले बढेको थियो । त्ययसपछि पनि दिनभर तीव्र घटबढ भएको थियो

सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब बढीले घटेर सवा ७ अर्बमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेपछि घट्न थालेको बजार पछिल्लो समय तरलता अभावले झनै प्रभावित पारेको छ । तरलता अभावका कारण बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बढीको १ करोड ५३ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छ । होटल समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ भने व्यापार समूह १.६१ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका २२३ कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक साढे २० र निफ्रा २० करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
दोहोरो अंकले बढेको बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, रुरु जलविद्युत् ५.७८ प्रतिशत, निफ्रा र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी, महुली सामुदायिक, सोल्टी होटल, किसान लघुवित्त, अपी पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरधनीले ५.८१ प्रतिशत गुमाएका छन् ।