काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले लगातार पाँचौं दिन गिरावट आएको हो । यस साताको ५ दिनमा मात्रै नेप्से १४४ अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड बढेर सवा १ अर्ब नाघेको छ ।
शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँ बराबरको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह पनि २.३४ प्रतिशतले घटेको छ ।
आज एनआइसी एशियाको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नागरिक लगानी कोषको ४ करोड र हिमालयन डिस्ट्रीलरीको पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज किसान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घटेको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त ४.६५, प्रोग्रेसिभ फाइनान्स ४.६०, लिबर्टी इनर्जी ४.४४, एशियन लाइफ, प्रभु इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
त्यस्तै, युनिलिभर, नेरुडे लघुवित्त, माउन्टेन हाइड्रो, आइएमई जनरल र सूयोदय लघुवित्तका सेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् । घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।