काठमाडौं । नेपाली सेनाको तालीम प्रयोजनका लागि सरकारले एक हिमाल नेपाली सेनालाई प्रदान गरेको छ । सरकारले मनाङस्थित चुलु वेस्ट हिमाल नेपाली सेनाले प्रयोग गर्ने गरी प्रदान गरेको हो । यो हिमाल नेपाली सेनाले ‘ट्रेनिङ पीक’का रुपमा प्रयोग गर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार ६ हजार ४ सय ९० मिटर उचाईको यो हिमाललाई नेपाली सेनाले सैनिक उच्च शिखर शिक्षालयमा सञ्चालन हुने माउन्टेन वारफेयर एडभान्स तालिमका रुपमा प्रयोग गर्नेछ । यसरी नेपालमा कुनै एक निकायलाई चुचुरो प्रदान गरेको यो पहिलो पटक हो ।
हिमाल अब सैनिक तालिममा सहभागी हुने शिक्षक, शिक्षार्थी र विदेशी शिक्षार्थीको आरोहणमा प्रयोग हुनेछ । सरकारले यो पिक प्रयोग गरेवापत तिर्नुपर्ने दस्तुर समेत नेपाली सेनाका लागि मिनाहा गरेको छ । १० वर्षसम्म सेनाले तालिम प्रयोजनका लागि यो हिमाल निःशुल्क प्रयोग गर्न सक्ने भएको छ ।