सोमबारबाट खुल्ने भयो शेयर बजार

काठमाडौं । लकडाउनका कारण करीव २ महिना ठप्प भएको शेयर बजार सोमबारबाट पुनः संचालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुलाउने निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको बैठक आइतबार बसेको थियो । बोर्डले सुरक्षा सतर्कता अपनाएर सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालनको निर्णय लिएको हो ।

कोरोना महामारीका कारण गत चैत ११ बाट सेयर बजार बन्द भएको थियो । बीचमा वैशाख २ गते बजार खुलाइएको थियो । तर दुई दिन कारोबार भएकोमा दुई दिन नै लगातार नेगेटिभ सर्किट लागेपछि बजार अनिश्चितकालका लागि बन्द भएको थियो । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सुरक्षा सतर्कता अपनाएर बजार संचालनमा ल्याउने निर्णय भएको हो ।

सेयर कारोबार गर्दा लगानीकर्ताले सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोगमा जोड दिइने भएको छ । नियमित कारोबार सञ्चालनमा कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी नयाँ व्‍यवस्था हुने भएको छ ।

सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड १९ सुरक्षाका उपाय पालना गर्नुपर्ने भएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेमा भने बोर्डले कारबाही गर्ने भएको छ ।