हङकङ र जापानको चार्टर्ड उडानमा बढी भाडा लिएको बारे छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले हङकङ र जापानमा नेपाल एयरलाइन्सबाट भएको चार्टर्ड उडानमा बढी भाडा लिइएको सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । यात्रुले यी उडानमा ट्राभल एजेन्सीले अत्यधिक भाडा असुलेको गुनासो गरेका थिए । चार्टर्ड उडानका नाममा नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी गुनासो आएको बताएको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र पर्यटन मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिव तोकिएको छ ।

जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

साथै आगामी दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि हो उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित वायु सेवा कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधार प्रस्तावित भााडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को कारण सिर्जित परिस्थिले गर्दा नेपालमा रहेका विदेशी तथा भिसाा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाज हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेकोप्रति पनि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।