हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा हाइड्रोपावरको सेयरमा चमक आउँदा नेप्सले नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो ।

आज नेप्सेले ३०७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०७५ विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक ३०५८ विन्दुको रेकर्ड बनाएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको नाफा घट्ने गरी नयाँ निर्देशन जारी गरेपछि आज बजार खुल्नसाथ निरन्तर ओरालो लागेर ५० अंकसम्म घटेको थियो ।

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकम पनि उत्साहजनक रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले बढेर १५ अर्ब नाघेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से २९.२८ अंकले बढेर ३०७९.६७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ, माएक्रोफाइनान्स, होटल र व्यापारसमूहको परिसूचक राताम्मे भएक छन् भने बाँकी ९ समूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ४.७४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह पनि ३.७५ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ४८ करोड र युनाइटेड मोदी हाइड्रोपावर ३६ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । मल्टिप्रपोज फाइनानस, खानीखोला, युनाइटेड मोदी, नेशनल हाइड्रो, जोशी र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, हिमालयन ऊर्जा, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर, युनाइटेड इदी मार्दीको सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । सिनर्जी पावर, रिलायन्स फाइनानस र आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।