१२ जेठ, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा आयोजना हुने एचटीएमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । एचटीएममा १०० भन्दा बढी अन्तरराष्ट्रिय पाहुनासहित नेपालका सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटनकर्मी तथा सरोकार भएका गरी ३० भन्दा बढी मुलुकबाट करिब ७०० प्रतिनिधिले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
एचटीएमका संयोजक एवं पाटाका महासचिव नरेन्द्र देव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताए । उनले यस पटक पाटा नेपाल च्याप्टरको ५० औँ वार्षिकोत्सव तथा अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्ष पूरा भएको अवसरमा हुने मार्टले विशेष महत्व राख्ने बताए ।
सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुदैँ आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।
पाटाका अध्यक्ष खेम लकाईले एचटीएमलाई विश्वस्तरीय पर्यटन कार्यक्रममा रूपान्तरण गर्न सबै साझेदारको समर्थन र सहकार्य आवश्यक रहेको भन्दै यसको माध्यमबाट पर्यटनको दिगो विकासका लागि निरन्त प्रवर्द्धनात्मक कार्यलाई प्राथमिकता दिन सकिने विश्वास व्यक्त गरे । नेपाललाई विश्वसामु ‘नेपालः हिमालयको प्रवेशद्वार’ साहसिक, सदावहार र सवल केन्द्रको रूपमा स्थापित गर्ने दृष्टिकोण र उद्देश्यका साथ यस मार्टले पर्यटन व्यवसाय प्रवर्द्धन, समसामयिक संवाद र प्रगतिशील सम्बन्ध तथा साझेदारी विस्तारमा उल्लेख्य योगदान पुर्याउदै आएको पाटा नेपालले जनाएको छ ।
यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले यस वर्ष एचटीएमलाई ज्ञानमूलक संवाद र सम्मेलन गन्तव्य प्रवर्द्धन तथा क्रेता बिक्रेताबीच फलदायी व्यापार आदनप्रदान र सम्बन्ध विस्तारलाई थप प्रभावकारी बनाउने पक्षमा केन्द्रीत गरिएको जानकारी दिए । सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनको लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।
बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी बिक्रेता सहभागी हुने पाटा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।