काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं\ढाका\काठमाडौं रुटमा सीधा उडान गर्ने भएको छ । हिमालयले ६ साउनबाट काठमाडौंदेखि ढाकासम्म सिधा उडान गर्न लागेको हो ।
यस रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उडाउने बिहीबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
एयरलाइन्ससँग तीन वटा न्यारोवडी जहाज रहेका छन् । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुने कम्पनीले उल्लेख गरेको छ ।
एयरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य स्थल दोहा, दुबई\आबु धावी, दमामको नियमित उडान सँगै ढाकाको नयाँ उडानले बंगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने कम्पनीको विश्वास छ ।
यस उडानबाट छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
एअरलाइन्सले हप्ताको तीन दिन काठमाडौंदेखि ढाका उडानको योजना बनाएको हो ।
दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क तथा इकोनोमी क्लासमा २० केजी सम्म छुट दिने कम्पनीले जानकारी दिएको छ ।
यस रुटमा सोमबार, बुधबार र शनिबार जहाज उडाउने योजना कम्पनीले बनाएको छ ।