काठमाडौं । निजी लगानीको हिमालय एयरलाइन्सले यसै वर्ष तीन एयरबस जहाज भित्राउने भएको छ ।
कम्पनीले फेब्रुअरीबाटै जहाजहरु नेपाल आउने र गन्तब्य थप्ने योजना बनाएको छ ।
अहिले कम्पनीसँग तीन वटा जहाज छन् । हिमालयले अहिले १० गन्तब्य पुर्याएको छ । कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी योजना सार्वजनिक गरेको हो ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले देशको उत्कृष्ट वायुसेवा कम्पनी बन्ने लक्ष्य राखेर योजनाहरु अगाडी सारिएको बताए ।
हिमालयले एयरबस-३१९ सिरिजका जहाज थप्ने भएको छ । चीनको ल्हासासहित उच्च भेगका विमानस्थलमा यी जहाजले उडान गर्न सक्छन् ।
हिमालयले अहिले ए३२०-२१४ सिरिजका जहाज उडाइरहेको छ ।
हिमालय एयरलाइन्सले बिहीबारबाट चिनियाँ शहर छोङछिङमा उडान थालेको छ ।
यो चीनमा हिमालयको पाँचौ गन्तब्य हो । यसअघि चीनको राजधानी बेइजिङसहित गुइयाङ, चाङसा, शेन्जेङ्गमा उडान बिस्तार गरेको छ ।
हिमालयले आबुधावी, दोहा, ढाका र क्वालालाम्पुरमा समेत उडान गरिरहेको छ ।
हिमालयले सन् २०२० भित्र नाङचाङ, सङ्घाई, अली र ल्हासामा हिमालयको उडान शुरु गर्ने भएको छ ।