काठमाडौं । सरकारले पर्यटन र होटेल व्यवसायसमेत संचालनमा ल्याउने निर्णय गरेको छ । ११ चैतमा शुरु भएको लकडाउनपछि यी सेवा बन्द थिए । अब सुरक्षा प्रवन्ध अपनाएर होटेल र पर्यटन सेवा संचालनको निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिले होटल बन्द छन् । रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा सूचारु छ । साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि भने गर्न पाइने छैन । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय समेत साउन १५ बाटै खोल्न सकिने भएको छ ।
हिउँदे सिजनको पर्यटन व्यवसाय सूचारु हुने गरी सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय लिएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुँदै गएपछि सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको हो । अब जनजीवन सामान्य बन्ने भएको छ । यद्दपी जोखिम रहने भन्दै सचेतना अपनाउन भने सरकारले आग्रह गरेको छ ।