ह्यामिल्टन हाइट्स

कुमार न्यौपाने, न्युयोर्क

दिनभरीको मौसम गतिबिधि नहेरी घर बाहिर निस्कन अप्ठ्यारो पर्छ । झ्यालबाट हेर्दा चर्को घाम देखिन्छ तर स्यांठ चलिरहेको हुनसक्छ । कति फरेन्हाइट वा सेल्सीयस खुट्याउनै पर्छ नत्र आच्छुआच्छु या हपहपीमा परिन्छ । म निकै पल्ट बित्यासमा परेको छु ।
अलिक महिना अघिको कुरा हो । इन्स्टाग्राम हेर्दै जांदा अमेरीकी स्वतन्त्रताका लागि लडेका मध्ये एक राष्ट्रपिता मानिने अलेक्जेन्डर ह्यामील्टनले न्युयोर्कमा दुई बर्ष बिताउंदा बसेको घरलाई राष्ट्रिय स्मारकको रुपमा राखिएको रहेछ र त्यो न्युयोर्क सहरको प्रमुख बोरो म्यानह्याटनको माथ्लो हार्लेमको अलिक हड्सन पट्टीको अग्लो भागमा पर्ने रहेछ । उनले केही समय बिताएको ठांउलाई उनैको सम्मान स्वरुप ह्यामिल्टन हाइट्स नाम दिइएको रहेछ । यति जानकारी भएपछि मलाई त्यो ठांउ जानुपर्नै सुचिमा राखें र केही दिनपछि त्यही ह्यामिल्टन हाइट्स जाने निधो गरें ।
ग्राण्ड सेन्ट्रलबाट सव वे चढें, जमिन मुनी मुनी एक दुइ ट्रान्सफर हुदै १४५ स्ट्रिटमा झर्नुपर्ने थियो ।
सार्वजनिक सवारी साधनको सहजताले न्युर्योकलाई जीवन्त तुल्याएको मान्दछु । न्युयोर्कको सव वे(ट्रेन) भनौं, फेरी (डुङ्गा) वा बसलाई एम टि ए भन्छन । त्यो एम टि एको बिभिन्न साधनहरुको टिकट मुल्यमा एकरुपता छ । २.७५ डलर तिरेपछि सब वेमा इनउडदेखि फार रकवेसम्म पनि जान सकिने भयो या चढेको अर्को स्टेसनमा झर्न पनि सकियो । फेरीमा पनि ९० मिनेट भित्र कुनै अर्को स्टेसनमा ट्रान्सफर गरी टाढाको गन्तव्यसम्म पुग्न सकिने भयो तर बसमा भने ट्रान्सफर हुन्न, बसको रुटसम्मको यात्रा अन्तिम हुन्छ, त्यसैले छिटो, सजिलो र सस्तो हुने भएकोले पनि प्रायः न्युर्योकबासी सव वे नै चढ्न मन पराउँदा रहेछन । यही सोच्दै सोच्दै गर्दा ट्रेन भित्रै मन फेरें र १२५ स्ट्रिट मै झर्ने विचार गरी ट्रेनबाट ओर्लिएं । नयाँ ठाउं हेर्दै हिड्छु भन्ने ध्याउन्न भयो, हिडेर गरेको यात्रा अझै सम्झनयोग्य हुन्छ । अब जमिनमा उक्लनको लागि बिद्युतीय भर्याङ्ग हुदै माथिल्लो भर्याङ्गको घुमाउरोमा आइपुगें । मेरो अघिपछि अन्य यात्रुहरु पनि थिए । खुट्किलो चढ्दाचढ्दै म भन्दा अघिको युवक त्यही भर्याङ्गको घुम्ने ठाँउको बीचभागमा टक्क उभिए, एक वृद्ध काँधमा हाते झोला र दुइवटा बडेमानका पुराना सुटकेसहरु सम्हाल्न धौ धौ मान्दै सुस्केरा हाल्दै रहेछन । निधारमा हल्का पसिना टल्कीएका थिए । टक्क अडिएका युवकले के म सहयोग गर्न सक्छु ? भन्यो । मलाइ पनि लाग्यो, कस्तो सहयोगी मान्छे । झण्डै दुइ बर्षको बसाइको क्रममा यति सजिलै कोहीले कसैलाई सहयोग गरौं है भनेको सुनेको थिइन । केही गरी सहयोग गरौं जस्तो गर्यो भनेपनि खै के पो सोच्छन यहाँका मानिसहरु, हत्तपत्त आफ्नो सामान छुन दिदैनन । यहाँ भने वृद्घले नबोली सहमति जनाए । एउटा सुटकेश झुण्ड्याउदै केटो माथि उक्लियो, मलाई पनि प्रेरणा मिल्यो र के म पनि हात लगाउं है? भन्दै लागी परें, ती वृद्घ हाँसेजस्तो गरे। सुटकेस त समाएं तर ६ फुट भन्दा माथिको मान्छेको हातको लम्वाई र मेरो, सन्तुलन मिलेन । उचालें जस्तो, सहयोग गरे जस्तो मात्रै भयो, सबैजसो भारी उनैले बोके तर मनलाइ अलिकति सन्तुष्टि चै मिल्यो ।
वृद्घको धन्यवाद थापें र म आफ्नो बाटो लागें । सब वेमा नियमित घर अफिस गर्ने बाहेक सबैलाइ जमिन मुनिबाट फुत्त बाहिर निस्कदा कता कता जस्तो भैहाल्छ । म त झन पहिलो पल्ट पुग्दै थिएं । माथि तिर जानुपर्ने दुइ स्ट्रिट तलतिर पुगेको थाहा पाएर फर्किए उही स्टेसन भए तिर । जहां झरेर ती वृद्घको सुटकेश बोकीटोपलेको ठाँउमा आइपुग्दा अझै ती दुबैजना त्यही पो रहेछन । के परेछ वा के चै भएछ भनि नजिक पुगेर कान थापें । मलाई पैसा देउ !
त्यत्रो वेरदेखि त्यो युवक ती वृद्घसंग पैसा पो माग्दैरहेछन ।
ओह्हो ।
म अचम्ममा परें, जोबाट प्रभावित भएर त्यो विरानो ठाँउमा अलिकति भएपनि सहयोग गरौं झैं लाग्यो र कस्तो हाम्रो तिर जस्तै सोचाइ रहेछ भन्ने लागेको थियो । हातसम्म लगाएर मनलाई हलुका पारी हिडेको थिएँ तर ति सवै भ्रम पो रहेछन । म आफैले आफैलाई कमजोर ठान्न पुगें । ति वृद्घले मलाइ त्यही देखेर ए ! तँ पनि आइस् पैसा माग्न ? त भन्दैनन झैं लाग्यो ।
एक जना आफ्नै समाजको वृद्घको अनुनय विनय वा कुनै आग्रह विना मात्र १०/१२ खुट्किलो सामान उचाल्न आफ्नै इच्छाले सहयोग गर्दा त्यसको प्रतिफल खोज्ने युवा देख्दा अबको समाज कुन बाटो तिर लाग्दै छ भन्ने संकेत गर्दछ । केही बेरपछि वृद्घले आफ्नो कोट छामछुम पार्दै केही पैसा ती युवकको हातमा राखिदिएको देखें । वृद्घको अनुहारको रुपरेखा र भावभङ्गीले उनी सहज र सामान्य अवस्थामा थिए भन्ने देखाउदैनथ्यो । उनी सुस्ताउदै थिए, म हेरीरहें । पैसा पाउने बित्तीकै कुनै प्रतिकृया विना नै केटो हिड्यो ।
मनमा अनेक कुरा खेल्दै थियो ।
ती वृद्घले के सोच्दै थिए होलान । आफ्नै रुपरङ्गको, सायद घर वरपर कै नाति समान एक युवाको मानसिकता देख्दा कस्तो लाग्यो होला ? ति युवाले केही समयपछि केही भिन्नै सोच्न भ्याए वा अर्को यस्तै पैसाको खोजीमा सव वे तिर लागे ? मथिन्गलमा थुप्रै कुरा खेलाउदै आफ्नो बाटो लागें ।
म वास्तावमा ती दुबैका राष्ट्रनिर्माताको घर, स्मारक, इतिहास हेर्न बुझ्न भौतारीदै थिएं । स्वतन्त्रताका, मानवताका, सुशासनका इट्टाहरु कस्ले, कसरी थप्दै यो देश निर्माण भएको रहेछ भन्दै खोज्दै थिएं । तीनैका पितापुर्खाको रगत, पसीना सहितको बलिदानीले आदर्शरुपि पुँजीवादी दर्शनका धरोहरहरु उभिएको हो, त्यसैले देशलाई समुन्नत बनायो । यो उदाहारणीय छँदैछ ।
अमेरिकी पहिलो राष्ट्रपति जर्ज वाशिङ्गटनको सरकारका सेक्रेटरी अफ ट्रेजरी, हाम्रो चलन र भाषामा भन्दा (अर्थमन्त्री) रहेका थिए ह्यामिल्टन । उनैको बारेमा केही बुझौं या सम्मान पनि प्रकट गरौं किनकी कुनै पनि देश बन्नका लागि सानो संघर्ष र तपस्या काफी छैन । हाम्रै इतिहास साक्षी छ र ‘मेरा साना दुखले आर्जेको मुलुक होइन’ भन्ने उदगार नै काफी छ ।
हिडिरहेको सडकबाट दाहिने पट्टि केही उकालो चढिसकेपछि न्युयोर्कमा भएका पार्कहरु मध्ये केही वेवास्ता गरिएको लाग्ने पार्क र रुखहरुको बीच बीचै हिड्दै गर्दा थोत्रिएका बेन्चहरुमा सुस्ताएका र रुखका छेको गरी बसेका व्यक्तिहरु कोही भोको छु, कोही घरवारविहीन छु भन्ने लेखिएको प्लेकार्ड बोकी केही खुद्रा पैसा वा खानेकुरा माग्दै थिए । मसंग पैसा त थिएन । बाटोको सामल झैं पानी र विस्कुट झोलामा हालेको कामै लाग्यो । दुइजनालाई बिस्कुट दिन भ्याएं । बाटाका अन्य र म झण्डै उस्तै उस्तै भयौं अब ।
अमेरिकी पहिलो अर्थमन्त्रीको घर वा स्मारक हेर्न जाँदै गर्दा घटेका साना मसीना घटनाहरु हुन यी । तर कसरी अर्थशास्त्र, पैसा, संस्कार र पुँजीवादी व्यवस्था गाँसीएर आयो । घटनाहरु झिनामसीना नै भएपनि यसको जरो गहिरोसम्म पुगेको छ । म यति मात्र भन्न चाहन्छु कि सायद ती युवा जसले सहयोगको नाउमा ती वृद्घसँग पैसा मागे त्यसले पक्कै केहि प्रश्नहरु खडा गरेका छन । तर पैसा नमागेका हुन्थे भने उही माथिल्लो पार्कमा खुद्रा पैसा माग्ने र भोको छु भन्नेको संख्या अझै बढ्थ्यो कि ? समाज, संस्कार र पैसाको नयाँ परिभाषा त चाहिएको हैन ?