११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

काठमाडौं । नेपालको वैदेशिक व्यापारमध्ये ठूलो व्यापारमा तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित देखिएको छ । भारत र चीनसँग उच्च व्यापार घाटा रहेको नेपालको अमेरिकासँग भने सन्तुलित व्यापार देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को ११ औं महिना (साउन-जेठ) सम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकाबाट भने नेपालमा १७ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको सामान आयात भएको देखिएको छ । अमेरिकामा नेपालबाट उच्च गुणस्तरको गलैचा बढी संख्यामा निर्यात हुने गरेको छ ।

उता, समग्र वैदेशिक व्यापारमा भने नेपालको व्यापार घाटा निकै उच्च स्तरमा पुगेको छ तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । ११ औं महिनासम्मको व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ थियो । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.६७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो अंक गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ८८ अर्ब ३१ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । नेपालको कुल वैदेशिक व्यापार भने १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको छ ।